हिमाल दैनिक
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को आजका सिफारिशमा आगामी साउन ३ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । आज बसेको सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । जस अनुसार नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम नेपाल सरकारका सिफारिशमा आइतबार अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साउन ३ गते आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिएका थिए । यसअघि मन्त्रिपरिषद्को सिफारिसमा जेठ ८ गते राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्ने गरी मिति तोकेकी थिइन् तर प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा असार २८ गते सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा बूँतिएको थियो । राष्ट्रिय सभाको अधिवेशन पनि असार २८ गते अन्त्य गरिएको थियो । त्यस्तै प्रवक्ता कार्कीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग म्याद १ वर्ष थप गर्ने निर्णय गरिएको जानकारी दिए । बैठकमा अन्य एजेण्डामा भने छलफल नै नभएको प्रवक्ता कार्कीले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update