हिमाल दैनिक
एमाले विवाद मिलाउन गठित कार्यदलको दशबुँदे सहमति अनुमोदित
emale-nekapa
नेकपा एमालेले विवाद समाधान कार्यदलले गरेको दशबुँदे सहमति अनुमोदन गरेको छ । शुक्रबार ललितपुरस्थीत तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले दसबुँदे सहमति ग्रहण गर्दै अनुमोदन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । त्यस्तै बैठकले सहमति अनुमोदन भएसँगै कार्यदल विघटन गरेको छ । बैठकले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिए । बैठकले प्रतिनिधि सभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा संविधानको अपव्याख्या भएको निष्कर्ष निकालेको छ । त्यस्तै ताजा जनादेशको लागि जनतामा जाने निर्णयलाई निरंकुश भनेर व्याख्या गर्नु गलत भएको एमालेले दाबी गरेको छ । प्रवक्ता ज्ञवालीले अदालतको फैसलाले राज्यका तीनवटा अंगको सन्तुलन खल्बलाएको निष्कर्ष निकालिएको जानकारी दिए । संसदमा फ्लोर क्रस गर्दा दलको ह्वीप लाग्दैन भन्ने कुरा दलीय प्रणालीको विपक्षमा रहेको एमालेले पारित गरेको उनले बताए। बैठकमा अध्यक्ष ओलीले आवेग र उत्तेजनामा नआइ रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका थिए । त्यस्तै ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने बताउनुभएको प्रवक्ता ज्ञवालीले बताए । शुक्रबारको बैठकमा वामदेव गौतमसहित नेपाल पक्षको भने उपस्थिति थिएन । तर, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू भीम रावल, गोकर्ण विष्ट, घनश्याम भुसाल र भीम आचार्यसहितका नेता बैठक रोक्न माग गर्दै पुगेका थिए । आफुहरु स्थायी कमिटी बैठकमा सहभागी नभएको र कार्यदलको सुझाव कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको नेता भीम रावलले जानकारी दिए । एकताका लागि गृहकार्य बाँकी रहेकाले बैठक रोक्न माग गरे पनि अध्यक्ष ओलीले बैठक नरोकिने बताएपछि उनीहरु बैठकस्थलबाट बाहिरिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update