हिमाल दैनिक
नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशिल सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई कारवाही गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले क्रियाशिल सदस्यता छानविनका क्रममा घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र १ का सभापति बालकृष्ण बस्नेत एवं घटनामा संलग्न भएकाहरुलाई कारवाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको हो । बैठकपछि कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले बस्नेत एवं आक्रमणको घटनामा संलग्न भएका व्यक्तिहरु उपर २४ घण्टाभित्र स्पष्टीकरण पत्र काटेर ३ दिन भित्र संगठनको अनुशासनको कारवाही गर्नका लागि निर्देशन दिएको जानकारी दिए । आवश्यक कारवाही गर्न अनुशासन समितिका संयोजक भीष्म आङ्देम्बेलेलाई पत्र जाने र अनुशासन समितिले आवश्यक कारवाही गर्ने उनले बताए । क्रियाशिल सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन नसक्ने कांंग्रेसको ठहर छ । छानविन समितिका सदस्य घिमिरेमाथि शुक्रबार सिन्धुपाल्चोकको क्रियाशील सदस्यताबारे छलफल गर्नु छ भन्दै आएको समूहले कुटपिट गरेको थियो ।  
प्रकाशित मिति: शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update