जनता समाजवादी पार्टी(जसपा)का महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकतामा दावी गरेको छ ।
आइतबार निर्वाचन आयोगमा भएको सुनुवाइका क्रममा दुवै पक्षले पार्टी आधिकारीकताको दावी गरेको हो । आयोगमा पुगेर दुवै पक्षका नेताहरुले पार्टीका नाम चिन्ह आफुहरुले पाउनुपर्ने बताएका छन् भने दुवै पक्षले आफुसंग बहुमत कार्यकारीणी सदस्य रहेको दावी गरेका छन् ।
सुनुवाइपछि जसपा उपेन्द्र पक्षका नेता महेन्द्र राय यादवले पार्टी आधिकारिकताका बारेमा भएको मागदावीमा बिधि र बिधान अनुरुप टुङ्गो लगाउनुपर्ने बताए । आफुहरुको हस्ताक्षरलाई सर्वोच्चले समेत मान्यता दिएकाले आफुसंग बहुमत सदस्य रहेको उनको भनाई छ । अर्को पक्षले नै पार्टीबाट अलग्गीने बताएको उनले बताए ।
त्यस्तै महन्थ पक्षका नेता लक्ष्मणलाल कर्णले अर्को पक्षको दावी कानूनसम्वत नरहेको बताए । उनले आयोगले जसपाका बारेमा छिटै निर्णय गर्नुपर्ने धारणा राखे ।
पार्टीको आधिकारिकता विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धि ऐनको दफा ४३–४४ अन्तर्गत आयोगले सुनुवाई गर्न लागेको हो । आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरुको ५ सदस्यीय इजलास गठन गरेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्