हिमाल दैनिक
विश्वासको मतका पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलको आह्वान
nepali-congress-samsadiy-dal
नेपाली काँग्रेस संसदीय दलले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संसद्को विश्वास छ भनी राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दल एवं सांसदलाई आह्वान गरेको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकले विश्वासको मतका पक्षमा मतदान गर्न आफ्ना सबै सांसदलाई निर्देश (ह्वीप) जारी गरेको दलका सचेतक पुष्पा भुसालले सञ्चारकर्मीलाई जानकारी दिईन । बैठकले सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको भन्दै सो फैसलाको स्वागत गरको छ । साथै यसका लागि सहयोग गर्ने बुद्धिजीवी, नागरिक समाज, पत्रकार जगत्लाई धन्यवाद दिएको छ । सचेतक भुसालले वर्तमान सरकारलाई विश्वासको मत प्राप्त हुनेमा संसदीय दल विश्वस्त रहेको जानकारी पनि दिईन । असार २८ गतेको सर्वोच्च अदालतको परमादेशअनुसार असार २९ गते नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता देउवा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update