नेकपा माओवादी केन्द्रका अध्य पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रबाट मन्त्री छान्न हैरानी र तनाव भएको बताएका छन्
शनिबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा बोल्दै प्रचण्डले सरकार बिस्तारलाई लिएर आफू चिन्ता र तनावमा रहेको बताएका हुन् । पार्टीका धैरै नेताहरु आंकांक्षी भएपछि प्रचण्डले आफूलाई अप्ठेरो परेको र माओवादीले धेरैमा ७ जना मन्त्री पाउने बताए । पार्टीभित्रका ४९ जना सांसद सबैलाई मन्त्री चाँहिएको भन्दै उनले पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको गुनासो गरे । कुरा आदर्शको गर्ने तर पदका लागि जे पनि गर्ने प्रवृतिलाई अव अन्त्य गर्नुपर्ने उनले बताए ।
उनले भने,‘हामीले धेरै पायौँ भने ७ जनासम्मलाई मन्त्री बनाउन पाउने हो । यहाँ मन्त्री पाइएन भने नेतृत्वलाई सराप गर्ने, मन्त्री पाए मात्र काम गर्ने प्रवृत्ति अहिले जबरजस्त रूपमा विकास भएको छ । या ठूलै नियुक्ति पायो भने ठिक छ, पाएन भने नेतृत्व बदमासै हो भन्ने प्रवृत्ति छ । तीन चार दिनदेखि म निकै मानसिक तनाव भित्र छु । मलाई त ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो जस्तो लागेको त छ । हामी कुरा गर्दा कम्युनिस्ट पार्टी यस्तो हुनुपर्छ भनेर आदर्शका कुरा गर्ने तर चित्त भने मन्त्री पद पाइन्छ कि पाइँदैन भन्ने छ ।’
त्यस्तै प्रचण्डले गठवन्धनका विरोधीहरुले यो गठवन्धन फुटाउने लागेको टिप्पणी गरे । एमसीसीमा भिडाएर गठबन्धनबीच झगडा गराउने प्रयास भइरहेको उनको भनाई छ । संविधान बचाएर ठूलै लडाइँ जितिएको भन्दै प्रचण्डले अझै चुनौती बाँकी रहेको बताए ।
उनले संविधानलाई सहि ट्रयाकमा ल्याएर बनेको सरकारले जनता र देशको पक्षमा काम गर्नुपर्ने जिकिर गरे । सरकारले सुरुमा नै सबै नागरिकलाई कोरोना खोपको व्यवस्था गर्ने निर्णय स्वागतयोग्य रहेको उनले बताए ।
प्रकाशित मिति: शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय