नेपाली राष्ट्रिय फुटबल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत राजीनामा दिने बताएका हुन् । राजीनामा दिने जनाएसंगै अब्दुल्लाह अलमुताइरी अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालयमा पुगेका थिए । एन्फा कम्प्लेक्समा प्रशिक्षक अलमुताइरीसंगको छलफल गर्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले राजीनामा फिर्ता लिन आग्रह गरे ।
अध्यक्ष शेर्पाले साफ च्याम्पियनसिप नजिकै आईसकेको कारण टिमको तयारी प्रभावित हुने भन्दै राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताएका छन् ।
प्रशिक्षक अलमुताइरीले अध्यक्ष शेर्पासँगको भेटमा आफु पछिल्लो समय तनाबमा रहेको समेत बताएका थिए । एन्फा प्रवक्ता किरण राईले अब्दुल्लाहलाई आराम गर्न भनेर भनेको र यो विषयमा थप छलफल हुने गरेर कुरा भएको बताए । उनले अब्दुल्लाहले राजिनामा नदिएको र केहि तनावमा रहेकाले आराम गर्न भनेर पठाएको बताए ।
यता अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजिनामा प्रकरणमा जोडिएको आश्चर्य व्यक्त गरे । प्रशिक्षक अब्दुल्लाहले सामाजिक सञ्जालमै आफ्नो नाम उल्लेख गर्दै राजिनामाको घोषणा गरेपछि नेम्वाङले अहिलेसम्म कोचसँग हाई हेल्लो पनि राम्रो गरी नभएको बताउँदै यसको छानविन गर्न माग गरे । आफू सधैं नेपाली फुटबलको विकासमा लागेको बताउँदै यदि आरोप प्रमाणित भएमा आफूले एन्फाबाट राजिनामा दिने पनि बताए ।
तर, उनले केही समय अघि महासचिवमार्फत प्रशिक्षकलाई स्पष्टिकरण सोध्न आग्रह गरेको भने स्वीकार गरे । प्रशिक्षकले मिडियामा पदाधिकारीको बारेमा बोलेकोमा आफूले अहसमति जनाएको नेम्वाङले बताए ।
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय