हिमाल दैनिक
निर्मला पन्तको दोषी पत्ता लगाउन प्रमको निर्देशन
sher-bahadur-deuba
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्याका सम्बन्धमा शीघ्र दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर प्रधानमन्त्रीले शीघ्र दोषी पत्ता लगाई कारबाही गर्न निर्देशन दिएका हुन् । निर्मला हत्या प्रकरणको आज तीन वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्रीले चासोपूर्वक दोषी पत्ता लगाउन र कारबाही गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले गृहमन्त्री र प्रहरी प्रमुखसँग सो प्रकरणमा हालसम्म भएको अनुसन्धानबारे जानकारी लिएका छन् । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, “निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु । चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।” कञ्चनपुरकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या भएको आज ( साउन १० गते) ३ वर्ष पूरा भएको छ । विसं २०७५ साउन १० गते विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की बालिका निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा स्थानीय उखुबारीमा भेटिएकी थिइन् । जघन्य अपराध भएको तीन वर्ष बित्दासमेत अनुसन्धान निष्कर्षमा पुग्न नसकेको तथा दोषी पत्ता लाग्न सकेको छैन ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update