नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने हल्ला पनि चलेको उल्लेख गर्दै यस्तो सपना नदेख्न चेतावनी दिएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महासेठले,‘राष्ट्रपतिमाथि महाभियोग लगाउने हल्ला यो त प्रोपोगाण्डामात्रै हो । यो सम्भव छैन् । महाभियोग लगाउन त्यति सजिलो छैन् । त्यति सजिलो भएको भए महाभियोग पहिल्यै आउँथ्यो ।’
उनले कांग्रेस, माओवादी केन्द्रलगायतका दलका नेताहरुलाई राष्ट्रपतिमाथि महाभियोग लगाएर मात्रै हेर्न चूनौति दिए । उनले भने,‘महाभियोग लगाएरमात्रै हेर्नुहोस, त्यसपछिको स्थिति के हुन्छ ? हुन त उहाँहरुसँग संख्या पनि पुग्दैन् । महाभियोग लगाएरमात्रै के गर्नु ? त्यो पारित हुन संख्यापनि पुग्नुपर्यो नि । पास हुँदैन् ।’ तर, सभामुखमाथि महाभियोग लगाईए अवस्था के हुन्छ ? भन्दै उनले भने,‘धेरै साथीभाईहरुमाथि पनि महाभियोग लाग्न सक्छ ? छोएर त हेर, लगाएर त हेर ? म चुनौति दिन चाहन्छु ।’
नेता महासेठले आगामी चुनावसम्म ओली, माधव नेपाल र प्रचण्ड एकै ठाउँमा उभिने पनि खुलासा गरे । उनले भने,‘उहाँहरु मिल्नुको विकल्प छैन् । कम्युनिष्टहरु मिल्नुपर्छ । हेर्नुहोस, हिजो माओवादी केन्द्रलाई त हामीले जीवनदान दिएका हौं । त्यो कुरा उहाँहरुलाई राम्रोसँग थाहा छ । त्यसैले हामी सबै कम्युनिष्ट एक ठाउँमा उभिनुको विकल्प छैन् । हामी चाहन्छौं कि सबै कम्युनिष्टहरु एक हौं ।’
उनले निवर्तमान प्रधानमन्त्री ओलीले साँढे तीन वर्षको अवधिमा धेरै राम्रो काम गरेको दाबी गरे । उनले ८०÷९० प्रतिशत राम्रो काम गरेको दाबी गरे । तर, काम गर्दै जाँदा दुई÷चार वटा गल्ती भएको होला भन्ने उनको भनाई थियो । उनले ओली सरकारले नै कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेकोले वर्तमान सरकारले यसमा उचित तवरले वितरण गरोस र सबै जनताले भ्याक्सिन लगाउन पाउने वातावरण बनाउनुपर्ने पनि धारणा राखे । तर, भ्याक्सिनमा पोलिटिक्स गरिए राम्रो नहुने उनको भनाई छ ।
उनले वर्तमान प्रधानमन्त्री जनादेशबाट नभई परमादेशबाट आएकोले लक्षण राम्रो नदेखाएको टिप्पणी गरे । उनले भने,‘उहाँ जनादेशबाट नभई परमादेशबाट आउनुभएको हो । अहिले उहाँ जनतामा जान पनि अप्ठ्यारो मानिरहनुभएको छ । देउवाले जनतालाई फेश गर्न सकिरहनुभएको छैन् ।’
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय