हिमाल दैनिक
म महन्थ ठाकुरप्रति भीष्मपितामहको दर्जा दिन्छु: रेशम चौधरी
resham-chaudhari
जसपाका केन्द्रीय कार्यकारिणी सदस्य एवं निलम्बित सांसद रेशम चौधरीले आफू पार्टीको बफादार सिपाही भएकाले कसैको पक्ष र विपक्षमा उभिन आफूलाई नियत र नैतिकताले नदिएको बताएका छन् । निर्वाचन आयोगले सोमबार हेड काउन्टका लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो । जसमा बहुमति सदस्यले यादवको साथ दिएका हुन् । यस्तै निलम्बित सांसद् समेत रहेका कार्यकारिणी सदस्य रेशम चौधरीले तटस्थ बसेका थिए । जेलबाट निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न नियत र नैतिकताले नदिएको उनको भनाई छ । उनले ठाकुरलाई भीष्मपितामहको संज्ञा दिंदै भने, ‘युधिष्ठिर र अर्जुनले युद्ध जित्छन् भन्ने उहाँलाई थाहा थियो । तथापि उहाँ दुर्योधनको पक्षमा उभिनुभयो । युद्ध हुन्जेलसम्म अर्जुनले हानेको बाँणले भीष्मपितामह लड्नुभयो र युद्ध हुन्जेलसम्म हरेक दिन अर्जुन युद्ध सकिएपछाडि पनि भीष्मपितामहलाई सोध्न जानुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘मैले तपाईँलाई बाँण हान्न नहुने तर एउटा निष्ठाका कारण युद्धको नियमका कारणले मैले तपाईँलाई बाँण हान्नुपर्यो क्षमा पाउँ भिष्मपितामह’ भनेर भन्नुहुन्थ्यो । मेरो पार्टीमा मेरा अध्यक्ष महोदयहरूमा अत्यन्त श्रद्धेय लाग्छ, महन्थ ठाकुर । उहाँ अत्यन्त आदर्श र सम्मानको पात्र हुनुहुन्छ । कसैले एक पक्षले बाजी मार्ला कसैले हार्ला तर जिन्दगीभरी कमाएको निष्ठाको लागि म महन्थ ठाकुरप्रति भीष्मपितामहको एउटा दर्जा दिन्छु । उहाँकहाँ गएर सबैले मैले के गर्नुपर्छ, मैले जितिनँ, हामी मिल्नुपर्छ, हामी एक हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ ।’ उनले कुनै एक पक्षले बाजी मार्ला र कोहीले हारेपनि जिन्दगीभर कमाएको निष्ठाको लागि महन्थ ठाकुरप्रति भीष्म पितामहको दर्जा कायम गरिदिन पनि आग्रह गरे । उनले भने, ‘मेरो लागि पक्ष जसपा हो, विपक्ष पनि जसपा हो । म जसपाको एउटा कार्यकर्ता हुँ ।’ त्यस्तै उनले आफु राजनीतिक मुद्दाका कारणले जेल बस्नुपरेको बताएका छन् । आयोगबाट बाहिरिने क्रममा चौधरीले अन्तिममा कवितात्मक शैलीमामा भने, 'कठघरामा उभिएर जति सत्य बके पनि न्याय पाउँ भन्दै हजुर सयौँ पटक झुके पनि निरीह ठान्दा रहेछन् शीर निहुराएपछि दोषी ठहराउँदा रैछन् चुप लागेर बसेपछि श्रीमान् न्याय देऊ हामीलाई क्षमा चाहिँदैन दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन अर्को तीन वटा प्वाइन्ट, एक न्याय, दुई न्याय, तीन न्याय ! ' जनता समाजवादी पार्टीका निलम्बित सांसद चौधरीलाई सनाखतका लागि डिल्लीबजार कारागारबाट निर्वाचन आयोगको कार्यालयमा झिकाइएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update