हिमाल दैनिक
समाजिक सञ्जालसँगै बहकिए कांग्रेस महामन्त्री खड्का
umesh-shrestha-purna-bahadur-khadka
गण्डकी प्रदेश सरकारसँगै संघीय सरकारको विस्तारबारे सामाजिक संजाल र मिडियामा आएका सार्वजनिक प्रतिक्रियाको बाढीमा स्वयं नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का पनि बहकिएका छन्। केही समयअघि नेकपा एमाले नेतृत्वमा रहेको प्रदेश सरकारलाई विस्थापन गर्दै कांग्रेसका कृष्णचन्द्र नेपालीको नेतृत्वमा बनेको प्रदेश सरकार विस्तारका क्रममा दलित समुदायको तर्फबाट मन्त्री हुने आकांक्षीहरुको सूचिमा रहेका डोबाटे विश्वकर्माको नाम हटाएर व्यापारिक क्षेत्रबाट आएका विन्दु थापालाई मन्त्री बनाइएको भन्दै कतिपय कांग्रेसकै असन्तुष्ट नेता, कार्यकर्ताले नेतृत्वको आलोचना गरेका थिए। त्यसलगत्तै आइतबार संघीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेदार दलबीच सहमतिको प्रक्रियामा ढिलाई भएपछि देशमा बढ्दो कोरोना महामारी नियन्त्रण तथा जनताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सांसद उमेश श्रेष्ठलाई दिए। देउवाको उक्त निर्णयप्रति कतिपय कांग्रेसजनसँगै नागरिक समाज र आमसंचार माध्यमले सामाजिक संजालमार्फत प्रधानमन्त्री देउवाको निर्णयप्रति चर्को आलोचना र असन्तुष्टि व्यक्त गरेका थिए। पार्टी सभापति एवं सरकारका प्रधानमन्त्री देउवाका अतिविश्वासपात्र एवं प्रमुख सहयोगी र योजनाकारहरुले नेतृत्वको निर्णय प्रक्रियामा समयमै ध्यान दिएर सही बाटो देखाउने तथा बाहिरबाट हुनसक्ने आलोचनात्मक टिप्पणीको प्रतिरक्षा गर्ने दायित्व बाकेकै पदाधिकारीबाटै नेतृत्वको निर्णयप्रति विमति जनाएर महामन्त्री खड्काले नेतृत्वलाई झस्काइदिएका छन्। सभापति एवं प्रधानमन्त्री देउवा नेतृत्वको सरकार संचालनका लागि सत्तासाझेदार दलको तर्फबाट सरकार संचालनका लागि गठित कार्यदलको प्रमुखका रुपमा रहेका महामन्त्री खड्काले सोमबार आफ्नो फेसबुक र ट्वीटरमार्फत आम नागरिकभन्दा एक कदम अघि सरेर सभापति तथा प्रधानमन्त्री देउवालाई निर्णय सच्याउन भनेका छन्। पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आश्रम ललितपुर बाँडेगाउँको तस्विरसँगै राखिएको स्टाट्समा महामन्त्री खड्काले गण्डकी प्रदेश र संघीय सरकार विस्तारमा पार्टीभित्र र बाहिरबाट आएका प्रतिक्रियाबाट पाठ सिक्दै सच्चिन र भविश्यमा यस्ता गल्ती नदोहोर्याउने भरपर्दो विश्वास कायम गराउन पनि नेतृत्वलाई झकझकाएका छन्। साथै उनले सभापति देउवा र पार्टी पदाधिकारीको तर्फबाट केन्द्र र प्रदेश सरकार विस्तारका क्रममा भएको कमजोरीप्रति महामन्त्रीको नाताले आमनागरिक र सम्बन्धित सबैसँग क्षमा समेत मागेका छन्। विगतमा पार्टीभित्र सभापति देउवाको तर्फबाट पदाधिकारीमा मनोनित भएर पार्टी संगठन र संविधान सभामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर पाउँदै आएका नेता खड्काले संकटको समयमा संयमता र धैर्यताकासाथ जिम्मेवारी निर्वाह गर्ने भन्दा सामाजिक संजाल र पार्टी बाहिर रहेका सर्वसाधारण नागरिकको प्रतिक्रियासँगै बहकिएर नेतृत्वको लाइन विपरितका कदम चाल्दै आएका छन्। जसको कारण सभापति देउवाले समस्या झेल्नु पर्दा महामन्त्री खड्काप्रति रोष प्रकट गर्ने गरेका पनि छन्।  
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update