हिमाल दैनिक
गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको शान्ति सुरक्षाको बारेमा जानकारी लिनुभएको छ । गृह मन्त्रालयमा आज प्रधानसेनापति पूर्णचन्द्र थापा र कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरी मुलुकको समग्र शान्ति सुरक्षाबारे लिनुभएको हो । भेटमा देशको शान्ति सुरक्षा, कोभिड नियन्त्रणबारे छलफल भएको गृहमन्त्री खाँणको स्वकीय सचिव बिजेश न्यौपानेले जानकारी दिनुभयो । चैतसम्म देशभर कोरोना खोप उपलब्ध गराउनेबारे पनि भेटमा छलफल भएको थियो । यसैबीच आजै गृहमन्त्री खाणले गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश संसदीय मामिलामन्त्री बिन्दुकुमार थापासँग पनि भेटघाट गर्नुभएको छ । भेटमा गण्डकी प्रदेशको पछिल्लो कार्य प्रगति र भावी योजनाको बारेमा छलफल भएको थियो । भेटमा मन्त्री थापाले गण्डकी प्रदेश पर्यटकीय क्षेत्र भएकाले पर्यटन व्यवसायी र गण्डकी प्रदेशका जनताको लागि आवश्यक खोपको उपलब्ध गराउन सङ्घीय सरकारका मन्त्री खाँणसमक्ष आग्रह गर्नुभएको थियो । जवाफमा मन्त्री खाँणले सबै नेपालीलाई खोप उपलब्ध गराउनेबारे नेपाल सरकार गम्भीर भएर लागेको बताउनुभयो । रासस
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update