हिमाल दैनिक
प्रधानमन्त्रीज्यू, मेरै पार्टीका मान्छेलाई मन्त्री दिनुस् न, प्लिज! : ओली
kp-oli
नेकपा (एमाले) का अध्यक्ष तथा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रमको संसद छलेर आएको भन्दै बिरोध जनाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय मागेर बोल्दै अध्यक्ष ओलीले संसद चालू अवस्थामा रहदा सरकारले संसद् छलेर उक्त कार्यक्रम किन ल्याउनुपर्यो भन्दै बिरोध जनाएका हुन् । उनले सरकारको साझा कार्यक्रममा कुनै नयाँ कुरा नभएको बताए । उनले साझा कार्यक्रममा प्रतिपक्षलाई सरापेर राष्ट्रिय सहमतिका लागि पहल गर्ने उल्लेख गरिएको तर्क गरे । अघिल्लो सरकारले अघि बढाएका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उनले खराब नियत राखेर कतिपय कार्यक्रम अघि बढाउन नचाहेपछि बाध्यताले केही कार्यक्रमलाई निरन्तरता दिन आनाकानी गरिएको बताए । त्यस्तै ओलीले आफू देश र जनताको सेवाको निम्ति जन्मिएको तर प्रधानमन्त्री हुन नजन्मिएको जिकिर गरे । काम गर्र्दै जाँदा प्रधानमन्त्री भएको र अब पनि जनताको जनमतमार्फत मूल ढोकाबाटै सरकारमा सहभागी हुने उनको भनाइ थियो । ओलीले अदालतको निर्णयमाथि बहस हुँदै जाने विश्वास व्यक्त गर्दै अदालत न्याय गर्न नसकेको धारणा राखे । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) को बारेमा नेपाली जनताले जान्न चाहेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस बिषयमा सरकारले स्पष्ट पार्नुपर्ने जिकिर गरे । उनले भ्रष्टाचारीलाई कारवाही गर्दा क्यान्टोनमेन्टदेखि बीर अस्पतालसम्म छानविन गर्न माग गरे । एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीका सांसदहरूलाई मन्त्री बनाइदिन व्यंग्यात्मक आग्रह पनि गरे । ओलीले सरकारले सुकुम्बासी आयोग खारेज गरेर सुकुम्बासीको अधिकारलाई कुन्ठित गर्ने काम गरेको धारणा राखे । विपक्षी गठबन्धनले सरकारको नेतृत्व गर्दा दसैं आउँदा केटाकेटी रमाए जस्तो गरिरहेको उनको भनाई छ । ओलीले एक महिनासम्म सरकारले केही काम नगरेर बधाई र धन्यवादमै अल्झिएको बताए । अघिल्लो सरकारले धेरै राम्रो काम गरेको तथा छिमेकीसँग सन्तुलित व्यवहार गरिएको र राष्ट्रिय सम्मानलाई झुक्न नदिएको ओलीले बताए ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update