हिमाल दैनिक
पार्टी क्रियाशील सदस्यता वितरणको विषयमा नेपाली कांग्रेसभित्र असन्तुष्ट पक्षले लगाएको आरोपलाई पार्टी संस्थापन पक्षले सरासर गलत र निराधार आरोप भएको दाबी गर्दै पार्टी विधान र प्रक्रियागत रुपमा आएका कुनै पनि व्यक्तिलाई सदस्यताबाट बञ्चित गर्न नसकिने अडान दोहोर्याएको छ। पार्टीको १४औं महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टी नेता रामचन्द्र पौडेल पक्षले क्रियाशील सदस्यता वितरण प्रक्रियामा नेतृत्वले धाँधली गरेको भन्दै समायोजनका नाममा थपिएका विवादित सदस्यता खारेज हुनुपर्ने अडान लिइरहेकै बेला सभापति शेरबहादुर देउवा पक्षले त्यसको प्रतिवाद गर्ने तयारीमा उत्रिएको हो। कोरोना महामारीको त्राससँगै मुलुकको विषम राजनीतिक परिस्थितिमा महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको बेला बिहिबार डाकिएको केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि सभापति देउवा पक्षका शीर्ष नेताहरुबीच छलफल र परामर्श सुरु भएको थियो। बुधबार बिहान सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा देउवा पक्षका नेताहरुको अनौपचारिक छलफल भएको थियो। उक्त छलफलका क्रममा विशेषगरी विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेका नेता, कार्यकर्ताको समायोजन तथा क्रियाशील सदस्यता सम्बन्धि विवादको विषयमा नेताहरुबीच छलफल भएको बैठकमा सहभागी एक नेताले बताए। छलफलमा दुई उपसभापति, सहमहामन्त्रीदेखि दुबै पक्षका सदस्यहरुलाई प्रतिनिधिका रुपमा समावेश गरी टुंगो लगाइएको समायोजनको खाका बमोजिम वडा तहदेखि क्षेत्र, जिल्ला हुँदै केन्द्रमा आएको क्रियाशील सदस्यताको विषयमा नेतृत्वलाई दोषी देखाउन खोज्नु गलत र आधारहिन आरोप भएको निचोड उनीहरुले निकालेका थिए। कतिपय वडा तहमा वडा समितिको बैठक नहुँदा उत्पन्न समस्याबाहेक समायोजनबाट आएका सदस्यहरुको विषयमा विवाद गर्ने वा विवाद उठाउने कुरा गलत भएको भन्दै क्रियाशील सदस्यता छानविन समितिले टुंगो लगाउन बाँकी रहेको विवादको सूचि शीर्ष तहका नेताहरु बसेर सहमतिमा टुंग्याउन र तत्काल महाधिवेशनको प्रक्रियामा अघि बढ्नु पर्ने निश्कर्ष उनीहरुले निकालेको त्यी नेताले बताए। ‘कतिपय राजनीतिक दलका नेता, कार्यकर्ता पुरानो पार्टी छाडेर कांग्रेसमा प्रवेश गरिसकेपछि उनीहरुलाई विधिसम्मत ढंगले सक्रिय सहभागी नबनाई बाहिरै बस भन्नु गलत हो,’ उनले थप्दै भने, ‘यदि कहीँ कतै समस्या देखिएको छ भने शीर्ष नेताहरुबीचको सहमतिमा विवाद सुल्झाउनु पर्छ। थप विवाद चर्र्काएर महाधिवेशनको कार्यतालिका प्रभावित गर्नु कसैले पनि हुँदैन।’ क्रियाशील सदस्यता छानविन समितिले केही जिल्ला र वडामा देखिएको विवादबारे सहमति जुटाउन नसकेपछि उक्त विवादलाई शीर्ष नेताहरुकै जिम्मा लगाइदिएको थियो। पटक पटक नेताहरुबीच भएको अनौपचारिक र औपचारिक छलफलमा पनि टुंगो नलागेपछि सभापति एवं प्रधानमन्त्री देउवाले उक्त विवादबारे छलफल र सहमति खोज्न आजै अपरान्ह आफ्नै निवास बुढानिलकण्ठमा शीर्ष नेता, वर्तमान तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन्। आज बस्ने उक्त बैठकले विवाद सुल्झाउन नसकेमा महाधिवेशनको नयाँ कार्यतालिका र क्रियाशील सदस्यताको विषय टुंगो लगाउन बिहिबारका लागि डाकिएको केन्द्रीय कार्यसमिति बैठक समेत प्रभावित हुने सम्भावना बढेर गएको छ।  
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update