नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्ता बहिर्गमनको चार हप्ता नबित्दै उनका अति विश्वासपात्रका रुपमा परिचित नेता शंकर पोखरेल पनि लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएका छन्।
विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष विशेष अधिवेशनको माग गर्दै बुझाएको निवेदन बमोजिम लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बुधबारका लागि बोलाएको प्रदेश सभा बैठकमा पोखरेल विरुद्ध अविश्वास प्रस्ताव पेश हुन नपाउँदै पोखरेलले पदबाट राजीनामा दिए।
उनको राजीनामा लगत्तै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठनको लागि आब्हान गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई बिहिबार अपरान्ह ३ बजेसम्म दाबी पेश गर्न समय दिएका छन्।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनको तयारी गरेको छ।
जसमा मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने निर्णय भएको छ। मुख्यमन्त्रीमा माओवादी केन्द्र र कांग्रेसले आलोपालो गर्ने, जनता समाजवादीलाई सरकारमा सहभागी बनाउने र राष्ट्रिय जनमोर्चा सरकार बाहिरै बसेर सहयोग गर्ने निर्णय भएको छ।
सुरुवातमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने र त्यसपछि कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियालाई मुख्यमन्त्री बनाउने तयारी छ।
फागुन ३ गते प्रदेशसभा दिवस र जनयुद्ध दिवस मनाएपछि केसीले मुख्यमन्त्रीबाट राजीनामा दिने सहमति भएको र गठबन्धनमा सबै दललाई अपनत्व महसुस गराउन मुख्यमन्त्रीमा आलोपालो नेतृत्वको निर्णय भएको कांग्रेस संसदीय दलका नेता कानोडियाले बताए।
प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेलगत्तै संविधानको धारा १६८ को उपधारा २ बमोजिम केसीको नेतृत्वमा सरकार गठनका लागि जान गठबन्धनको तयारी छ।
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय