हिमाल दैनिक
पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले संसदमा पेश गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्र अघिल्लो सरकारको तथ्यहीन आलोचना र पूर्वाग्रहीमा केन्द्रीत रहेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बिषेश समयमा बोल्दै पौडेलले अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको श्वेतपत्र अघिल्लो सरकारका कामहरूका बारेमा तथ्यहीन आलोचना र विरोध गरिएको र पूर्वाग्रही रहेको आरोप लगाएका हुन् । उनले राजनीतिक दलहरूबिच नीति, विचार र दृष्टिकोणमा मतभिन्नता हुन सक्ने तर मुलुकको आर्थिक अवस्थ कस्तो छ भन्ने कुरा तथ्यमा रहने धारणा राखे । उनले तथ्यको तोडमोड गरेर अर्थमन्त्री शर्माले स्वेतपत्र जारी गरेको जिकिर गरे । आफूले अध्यादेशमार्फत लोकप्रिय बजेट ल्याएको र त्यसलाई निजी क्षेत्रले पनि समर्थन र स्वागत गरेको पौडेलले दावी गरे । उनले कोभिड–१९ को कारणले पूँजीगत खर्चमा नकारात्मक चाप पर्दा चालू खर्च बढेको र पुनर्निर्माणको खर्च पनि साधारण खर्चमा गणना भएकाले चालु खर्चको आकार बढ्न गएको बताए । त्यस्तै कांग्रेसका सांसद गगन थापाले मन्त्रिपरिषद विस्तार हुन नसक्नुको कारण माग गरे । उनले साझा न्यूनतम कार्यक्रम अनुसार अघि बढ्न सरकारलाई आग्रह गरे । थापाले प्रतिपक्षीमा बस्नेबितिकै सरकारलाई सुझाव दिने एमाले अध्यक्ष केपी ओलीले सरकारमा रहदा केही पनि गर्न नसकेको तर्क गरे । सरकारले सबैको कुरा सुनेर अगाडि बढ्नुपर्ने भन्दै थापाले अघिल्लो सरकारले प्रमुख प्रतिपक्षीलाई नसुनेको बताए । बैठकमा माओवादी केन्द्रका सांसद मातृका यादवले परमादेशको सरकार भन्ने पूर्व प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर चुनाव लडेर आउन सुझाव दिए । यादवले अस्वस्थ व्यक्तिलाई मुलुक जिम्मा लगाउँदा दुर्घटना भएको टिप्पणी गरे । यादवले प्रतिनिधि सभा पुनःस्थापना र वर्तमान सरकारलाई परमादेश परमादेश भन्नेको मानसिक सन्तुलन खल्बलिएको टिप्पणी गरे । यादवले बोलिरहेको समयमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नियमापत्ति गरेका थिए । भट्टराईले व्यक्तिको मानसिक स्वास्थ्यको कुरा उठाउने विषय एमालेलाई कुनै हालतमा स्वीकार्य नहुने बताए । भट्टराईको नियमापत्तिबारे बैठकको अध्यक्षता गरिरहेका घनश्याम खतिवडाले ध्यानाकर्षण भएको बताए । बैठकमा प्रतिनिधिसभाका सचिव गोपीनाथ मैनालीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘स्टाण्डर्स नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६’ सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गरे । प्रतिनिधिसभाको अर्को बैठक साउन २९ गते शुक्रबार १ बजे बोलाइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update