हिमाल दैनिक
सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी सांसद मात्रिका यादवले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको शारिरीक तथा स्वास्थ्यलाई लिएर बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख सापकोटाले बिहिबार बसेको बैठकमा माओवादी सांसद यादवले ओलीको विषयमा गरेको व्यक्तिगत टिप्पणी हटाउन निर्देशन दिएका हुन्। यादवले केही महिना अघिसम्म एउटै पार्टीमा छँदाका पार्टी अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री ओलीलाई मेन्टल्ली’, ‘फिजिकल्ली’ अस्वस्थ भएको भन्ने आरोप लगाएपछि उठेको विवादबारे सभामुखले उक्त शब्दलाई संसद सचिवालयको रेकर्डबाट हटाउन आदेश दिए। शुक्रबारको बैठक सुरु हुनेबितिकै एमाले सांसदहरु आ आफ्नो ठाउँमा उठेका थिए। त्यसपछि सभामुखले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिएका थिए। भट्टराईले एमाले संसदीय दलका नेता तथा पूर्व प्रधामन्त्री ओलीको स्वास्थ्यलाई लिएर दिइएका अभिव्यक्ति संसदीय मर्यादा बिपरित भएको भन्दै रेकर्डबाट हटाउन माग गरे। बिहिबारको बैठकमा यादवले ओलीप्रति लक्षित गर्दै प्रतिनिधि सभा पुनःस्थापना र वर्तमान सरकारलाई परमादेश परमादेश भन्नेको मानसिक सन्तुलन खल्बलिएको टिप्पणी गरेका थिए। बैठकमा सांसद मोतिलाल दुगडले सभामुखसंग समय नलिइ बोल्न खोज्दा विरोध भएको थियो।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update