प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले मानव बेचबिखन तथा ओसारपसारको रोकथाम गर्न तथा त्यस्ता घटना पत्ता लगाउन सीमाना नियन्त्रणलाई सुदृढीकरण गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सीमा क्षेत्रमा पीडित र अपराधीको पहिचानलाई सरलीकरण गर्न खुला सीमाको नियमनलाई व्यवस्थित गर्न तथा आवतजावत गर्ने व्यक्तिको विवरणसहितको तथ्याङ्क व्यवस्थित रुपमा राख्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकले मानव बेचविखनसम्बन्धी जोखिम न्यूनीकरणका लागि आर्थिक सशक्तीकरण, शिक्षामा पहुँच र तालिमका कार्यक्रमहरु सञ्चालन गर्न पनि निर्देश गरेको छ भने जोखिम क्षेत्रमा संघ संस्था परिचालित गरी बहस पैरवी गर्न पनि समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देश गरेको समिति सभापति निरु पालले बताईन ।
त्यस्तै कानुन कार्यान्वयन गर्ने निकाय र मानव बेचविखनविरुद्धको कार्यमा प्रत्यक्ष संलग्न हुने संस्थाहरुको सबलीकरण गर्न, तहगत रुपमा तीनवटै तहका सरकारहरुबीच सहकार्य र समन्वयमा जोड दिन पनि समितिले गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देश गरेको उनले बताईन ।
त्यस्ते बैठकले हराएका वा बेपत्ता भएका व्यक्तिहरुको परिवारबाट कुनै एक प्रहरी कार्यालयमा प्राप्त हुने उजुरी सबै प्रहरी कार्यालयमा सर्कुलर हुने व्यवस्था मिलाउन पनि निर्देश गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्