हिमाल दैनिक
नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरुले पार्टीभित्र आफूहरुप्रति असमान व्यवहार गरिएको भन्दै आमन्त्रित केन्द्रीय सदस्यबाट राजीनामा दिने धम्की गरेका छन्। महाधिवेशनेको मिति नजिकिँदै जाँदा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिदेखि संघ र प्रदेश सभा सदस्यका उम्मेदवारहरु महाधिवेशन प्रतिनिधिका रुपमा वडा तहबाट आउन नपर्ने व्यवस्था भएपनि आमन्त्रित केन्द्रीय सदस्यहरुका लागि वडादेखि नै निर्वाचित भएर आउने भेदभावपूर्ण प्रावधान राखिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन्। पार्टीको आसन्न १४औं महाधिवेशनको नयाँ कार्यतालिकासँगै क्रियाशील सदस्यताको विषयमा टुंगो लगाउन बिहिबारदेखि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरु कृष्णकिशोर घिमिरे, किरणराज पौडेल लगायतका सदस्यले आपत्ति प्रकट गरेका थिए। दाङका पुराना कांग्रेस नेता घिमिरे र बाग्लुङका नेता पौडेलले पार्टीभित्र दोहोरो मापदण्ड कायम गर्ने भन्दा केन्द्रदेखि तल्लो तहसम्मका सबै पार्टी पदाधिकारी र सदस्यहरुका लागि समान व्यवस्था गरी निर्वाचनकै माध्यमबाट आउनु पर्ने अडान राखेका थिए। यदि सबैका लागि समान व्यवस्था नगरिए आफूहरु अपमानित भएर केन्द्रीय समितिमा नबस्ने बताउँदै सभापतिले विभिन्न चरणमा मनोनित गरेका सबै २२ जना सदस्यले केन्द्रीय सदस्यबाट राजीनमा दिने जानकारी पार्टी बैठकमा दिएको एक नेताले बताए। बिहिबार बिहान मात्रै नेता घिमिरे, पौडेलसहितका ७ जना सदस्यले सभापति देउवालाई भेटि पार्टीमा सबै पदाधिकारी र सदस्यहरु वडा तहदेखि नै निर्वाचित भएर आउनु पर्ने अन्यथा वडाबाट चुनाव नलडी सोझै केन्द्रीय समितिमा चुनाव लड्ने जोकोहीलाई पनि आफूहरुले असहयोग गर्ने अभियान सुरु गर्ने जानकारी दिएका थिए। मिति :२०७८/०४/२९ श्रीमान सभापति ज्यु, नेपाली कांग्रेस,केन्द्रीय समिति; बीपी नगर,सानेपा; ललितपुर बिषय: एक अवधिका लागि प्रतिनिधिको व्यवस्था र अन्य दलबाट प्रवेश गरेका साथीहरूको हकमा उम्बेदवार बन्न १० बर्षे अवधि नलाग्ने बिषय सम्बोधन नभएकोले राजिनामा दिएको सम्बन्धमा। महोदय, प्रस्तुत विषयमा नेपाली कांग्रेसको बिधान,२०१७(संशोधन सहित) परिच्छेद-१२-विविध धारा ५० को (४) मा पार्टीका सबै तहका कार्यसमितिले पार्टीका निमित्त योगदान दिएका र दिन सक्ने विशिष्ट व्यक्तिहरूलाई आफ़्नो बैठकमा आमन्त्रित गर्न सक्ने छ। नेका को नियमावली -२०७६ को परिच्छेद-१८ विविध धारा ५६-आमन्त्रित हुने को (२) मा पार्टीको सबै तहका सभापतिले सम्बन्धित कार्यसमितिमा बढ़िमा १० जना सदस्य आमन्त्रण गर्न सक्ने छ। यसरी आमन्त्रित हुने सदस्य सम्बन्धित तहको अधिवेशनको प्रतिनिधि हुनु पर्ने छ। भनि आमन्त्रित केन्द्रीय सदस्यको तह,योग्यता र १० जनाको संख्या स्पष्ट तोकेको छ। आदरणीय पार्टी सभापति ज्युले मनोनीत गर्नु भएका १० जना व्यक्ति पार्टीको परम्परा अनुरूप नै एक कार्यकालको लागि स्थायी आमन्त्रित सदस्यको रूपमा रहदै आएको स्पष्टै छ। हाल अन्य पार्टीबाट समेत आमन्त्रित सदस्य थप भई २२ जनाको संख्या पुगेको छ। बिधानको परिच्छेद-१२,धारा (४८) बमोज़िम नियमावली बनाउने बेला (२०७६ बैसाखमा) समेत यो विषयलाई स्मरण गराएका थियौ। तत्कालीन बेलामा हाम्रो क़ुराको सुनुवाई भएन हाल नेका नियमावली -२०७६ जारी भै सकेको र उक्त नियमावलीको परिच्छेद-१८ धारा (७०) बमोज़िम नियमावलीको व्याख्या,संशोधन तथा अनुसूचीमा थपघट गर्न (१) (२) र (३) अनुसार यो नियामाबलीको संशोधन,थपघट र अन्तिम व्याख्या केन्द्रीय कार्यसमितिले गर्नेछ भन्ने व्यवस्था भएकोले आमन्त्रित केन्द्रीय सदस्यहरूलाई समेत एक अवधिका लागि बिधानको परिच्छेद -६ धारा १५ को (ग) मा केन्द्रीय महाधिवेशन सम्बन्धि व्यवस्थामा निबर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री,कोषाध्यक्ष, सह-महामन्त्री र केन्द्रीय सदस्य जस्तै एक अवधिका लागि (महाधिवेशन) प्रतिनिधि हुने व्यवस्था सम्बन्धि निर्णय गरीदिनुहुन भनि यस अगाड़ि ( २०७७ असोज १५ गते) नै अनुरोध गरेका थियौ। नेपाली कांग्रेसको बिधान-२०१७ (संशोधन सहित)को परिच्छेद-३ धारा ११(१) को (ख)मा प्रतिनिधि सभा निर्वाचन क्षेत्र भित्र रहेका पार्टी केन्द्रीय समितिका बर्तमान एवं पूर्ब पदाधिकारी तथा सदस्यहरू,ज़िल्ला सभापति,क्षेत्रीय सभापति,संघीय संसदका सदस्य र उम्मेदवार,प्रदेश सभाका सदस्य र उम्बेदवार एक अवधिका लागि क्षेत्रीय अधिवेशनका सदस्य हुने व्यवस्था गर्दा समेत आमन्त्रित केन्द्रीय सदस्यहरू र पार्टीका अन्य तह सदस्यहरूका बारेमा बिधानत कुनै व्याख्या नहुदा दुःखित छौ। आग्रह गर्दछौ बिधानले सबै तहको समान व्यवस्था गर्ने गरी ब्याख्या गरियोस, केन्द्रीय समितिका पधाधिकारी, सदस्यहरू,महाधिवेशन प्रतिनिधि,ज़िल्ला सभापति,क्षेत्रीय सभापति,प्रदेश सभापति, गाऊँ/नगर पालिका सभापति,वार्ड सभापति समेत सबै तहका समितिहरूका पदाधिकारी, सदस्य हरूलाई आ-आफ़्नो तहमा उम्बेवदार हुन एक अवधिको लागि स्वत प्रतिनिधि बन्न पाउने व्यवस्था गरियोस। नेपाली कांग्रेस पार्टीको सिद्धान्त र आदर्श राष्ट्रीयता,लोकतन्त्र र समाजबादलाई आत्मसात गरि विभिन्न राजनीतिक पार्टी परित्याग गरि नेपाली कांग्रेसको पदाधिकारी ,केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरूलाई पार्टीको बिधान परिच्छेद-२ को १० को (ग) र (ङ) अनुसार पदस्थापन गरिएको छ। यसरी पदस्थापन गरिएका सदस्यहरूलाई १० बर्षको अवधि नलाग्न्ने गरी बिधान अनुसार पार्टीको निर्वाचनमा भाग लिन पाउने,बिसेष पद सिर्जना गरि ज़िम्बेबारी दिन सक्ने केन्द्रीय कार्यसमितिलाई भएको अधिकार अनुसार आमन्त्रित केन्द्रीय सदस्यहरूलाई केन्द्रीय सदस्य सो सरह पार्टीको निर्वाचनमा (केन्द्रीय महाधिवेशनमा) भाग लिन ,उम्बेदवार हुन पाउने र केन्द्रीय महाधिवेशन प्रतिनिधिको व्यवस्था गरि गराई दिनुहुन बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ नभएकोले केन्द्रीय समितिको बैठकमा प्रस्तुत निर्वाचन निर्देशिका मा समेत समेटने कुनै लक्षण नदेखाएकोले यो बैठकमा आ-आफ़्नो आमन्त्रित केन्द्रीय सदस्य पद बाट राजिनामा दिने निर्णय गर्दछौ। जय नेपाल ! निवेदक-आमन्त्रित केन्द्रीय सदस्यहरू: १-नन्दनकुमार दत्त २-कुमार खड्का ३-बालकृष्ण पाण्डेय ४-गोरख (आनन्द) विष्ट ५-नरेन्द्रकुमार चौधरी ६-हसन अन्सारी ७-किरणराज शर्मा पौडेल ८-रमा कोइराला पौडेल ९-कृष्णकिशोर घिमिरे १०-गोपालकुमार बस्नेत ११-सुधीरकुमार शिवाकोटी १२-मनोहरनारायण श्रेष्ठ १३-ध्रुव वाग्ले १४-मोहनसिंह राठौर १५-शम्भुलाल श्रेष्ठ १६-अभिषेख प्रताप शाह १७-दयाराम पाण्डे १८-जनकराज कलौनी १९-भूमिबहादुर (विश्व) गुरुङ २०-आशाराम चौधरी २१-दिलीप राई २२-राजेश बहादुर सिंह
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update