हिमाल दैनिक
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी बनाउने बिषय बाध्यताको कुरामात्र भएकोे बताएका छन् । शनिबार काठमाडौंमा नेकपा एमाले बागमती प्रदेश सम्पर्क संगठन कमिटीको प्रशिक्षण कार्यक्रममा नेता नेपालले अर्को पार्टी बनाउन चाहन्छन् भन्ने नभएर बाध्यताको कुरा मात्र भएको बताएका हुन् । उनले अब प्रदेशदेखि तल्लो तहसम्म समानान्तर कमिटी बनाउने कामलाई तीव्र गतिमा अघि बढाइने धारणा राखे । नेता नेपालले एमालेभित्र रहेको गलत र अहंकारी प्रवृतिले जनविश्वास गुमेको भन्दै आफ्ना लागि मैदान खाली रहेको उल्लेख गरे । अपमान सहेर एकता नहुने र त्यस्तो अवस्थामा असहज बाटो लिनु बाध्यता हुने उनको भनाई छ । उनले पार्टीको प्रत्येक घटनाक्रम हेर्दा अध्यक्ष ओलीले पार्टी बिभाजन चाहेको आरोप लगाए । नेता नेपालले समाजवादको लक्ष्य बोकेको कम्युनिष्ट पार्टीले सत्तामा पुगेपछि आफ्नो जिम्मेवारी भुलेको र अवसरवादको कारणले कम्युनिष्ट आन्दोलन कमजोर बन्दै बताए । उनले एकताका लागि अत्यन्त प्रयन्त गरेको बामदेव गौतमको जस्तोे अवस्था पार्टीभित्र आफुले व्यहोर्न नसक्ने स्पष्ट पारे । पार्टीभित्र ओलीले एकतर्फी रुपमा आफ्नो गतिविधि अगाडी बढाउदै लगेको र एकताका लागि गम्भीर बन्न नसकेको आरोप पनि नेता नेपालले लगाए । कार्यक्रममा नेता नेपालले एमाले बागमती प्रदेश सम्पर्क संगठन कमिटीका सदस्यहरुलाई सपथ खुवाएका थिए ।  
प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update