हिमाल दैनिक
कांग्रेसलाई गरिखानेको पार्टी नबनाएसम्म देशको उन्नती असम्भवः विनोद चौधरी
Garikhana abhiyan
प्रतिष्ठित उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले कांग्रेसका प्रत्येक नेता, कार्यकर्तालाई उद्यमशील र कांग्रेसलाई गरिखानेको पार्टी नबनाएसम्म पार्टी र देश दुबै चल्न नसक्ने दाबी गरेका छन्। नेपाली कांग्रेस लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित समितिका संयोजक तथा गरिखाने अभियानका प्रमुख चौधरीले शनिबार राजधानीमा कांग्रेस जिल्ला सभापतिहरुसँगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै यस्तो दाबी गरेका हुन्। देशमा प्रत्येक वर्ष ४ देखि ५ लाख रोजगारीका लागि तयार दक्ष र अर्धदक्ष युवा जनशक्ति उत्पादन भएपनि सरकार र गैरसरकारी क्षेत्रले ५० हजारको हाराहारीमा रोजगारीको अवसर दिन सक्ने अवस्था रहेको उल्लेख गर्दै चौधरीले बाँकी युवा जनशक्ति खाडी मुलुक र छिमेकी मुलुक भारतमा जान बाध्य रहेको बताए। रोजगारीको अवसरबाट बञ्चित युवामा देखिएको निराशाजनक मानसिकतालाई बुझेर कांग्रेसले उनीहरुका लागि स्वदेशभित्रै कसरी अवसरको श्रृजना गर्न र देशको पूँजी निर्माणमा लगाउन सकिन्छ भनि सोच्ने बेला आएको पनि चौधरीले बताए। कांग्रेसका नेता, कार्यकर्तादेखि शुभचिन्तकमध्ये पनि अतिविपन्न वर्गका शीप, श्रम र क्षमतासँगै केही गर्ने उत्साह बोकेका युवालाई पार्टीको केन्द्रदेखि जिल्ला तहसम्मको नेतृत्वले पहिचान गरी स्वरोजगार तथा उत्पादनमूलक कार्यक्रम सहुलियत ऋण उपलब्ध गराउने लक्ष्यले गरिखाने अभियान अन्र्तगत कर्मभूमि कार्यक्रममा वार्षिक ५० हजार हाराहारीका योजना संचालन गर्न सकिने जानकारी उनले दिए। विगतमा कम्युनिष्ट पार्टीका सरकारले आफ्ना कार्यकर्तालाई गरिखाने बनाउने विभिन्न नाममा राज्यकोषको दुरुपयोग गरेर राज्यलाई कमजोर बनाएको आरोप लगाउँदै ०४६ सालको परिवर्तन पश्चात बनेको ०४८ को कांग्रेस सरकारले अपनाएको उदार अर्थतन्त्र र खुला नीतिकै कारण विषम राजनीतिक अस्थिरताका बाबजूद पनि देशको अर्थतन्त्र धानिएको दाबी उनले गरे। कार्यक्रममा गरिखाने अभियानका सहसंयोजक तथा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठले नेपाल सबै हिसाबले सम्भावना नै सम्भावना भएको मुलुक भएपनि सही नीतिको अभावमा गरिव हुनु परेको बताए। देशमा रहेको युवा वेरोजगार शक्तिलाई स्वदेशभित्रै रोजगारीका अवसर प्रदान गर्न त्यही किसिमको शिक्षा नीति आवश्यक रहेको बताउँदै यसतर्फ कांग्रेसको ध्यान केन्द्रित गर्न जोड मन्त्री श्रेष्ठले दिए। साथै उनले पार्टीले अघि सारेको गरिखाने अभियानलाई सफल बनाउन सबै क्षेत्रमा असफल हुने कार्यक्रम नरोज सहि र सफल हुनसक्ने योजना र क्षेत्रसँगै व्यक्ति वा समूहको पहिचान गरी कार्यक्रम संचालन गर्नु पने बताए। हालै गठनको भएको नयाँ सरकारको राज्य मन्त्रीमा नियुक्ति भएलगत्तै सामाजिक संजालमार्फत पार्टीभित्रैदेखि बाहिरबाट चर्को आलोचना खेप्न बाध्य भएका मन्त्री श्रेष्ठले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अवसर र चुनौतीका रुपमा लिएको बताए। साथै उलने कोरोना महामारीविरुद्ध विगतको सरकारले ४० लाख मात्रै खोप जनतालाई उपलब्ध गराएको भएपनि आफूहरु सरकारमा आएपछि दैनिक दुई देखि तीन लाखको हाराहारीमा जनतालाई खोप लगाउन सफल भएको बताए। कार्यक्रममा सहसंयोजक तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेसले चलाउन थालेको गरिखाने अभियानले कांग्रेसप्रति आस्था राख्न गरिव तथा विपन्न वर्गका युवालाई सहज रुपमा ऋण प्रवाहमार्फत आत्मनिर्भर बनाउने लक्ष्य लिएको जानकारी दिए। साथै उनले आगामी स्थानीय निर्वाचन पूर्व हरेक जिल्लामा गरिखाने कार्यक्रममार्फत शीप र श्रम भएर पनि पूँजीको अभावमा केही गर्न नसकेको युवा वर्गलाई लक्षित कार्यक्रम संचालन गर्न जरुरी भएको पनि बताए। कार्यक्रममा गुल्मी कांग्रेस जिल्ला सभापति भुवन श्रेष्ठले कांग्रेसले विगतमा पार्टी कार्यकर्तालाई नारा, जुलुस र आन्दोलन गर्न सिकाएको भएपनि गरिखाने संस्कार नसिकाएको भन्दै आर्थिक र सामाजिक परिवर्तनका लागि प्रत्येक कांग्रेस गरिखाने हुनु पर्नेमा जोड दिए। कञ्चनपुरका हरि बोहोराले अभियानका संचालकलाई उक्त कार्यक्रमलाई आसन्न स्थानीय निर्वाचनअघि कम्तिमा एक वा दुई वटा कार्यक्रम प्रत्येक निर्वाचन क्षेत्रमा संचालन गर्न सुझाव दिए।
प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update