नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहसँग नाम जोडिएका नेताहरुलाई पार्टीमा फकर्न आह्वान गरेका छन् ।
एमाले जिल्ला कमिटी भक्तपुरले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालको लिस्टमा नाम लेखेर निर्वाचन आयोगमा नाम दर्ता गराउनेलाई पार्टीमा फर्कन आह्वान गरेका हुन् ।
उनले माधव पक्षमा गएका नेताहरुको भविष्य अन्धकार रहेको तर्क गर्दै आफ्नो पार्टीमा रहेका नेताहरुलाई आवश्यक जिम्मेवारी दिइने बताए ।
उनले भने, “यो देश बनाउने जिम्मा अहिले पनि एमालेकै काँधमा छ, त्यसैले पदको लोभमा त्यता बस्नु पर्दैन, माधव नेपालसँग नाम लेखेर निर्वाचन आयोगमा नाम दर्ता गराएका साथी नाम कटाएर पार्टीमा आउनुस्, कुनै पक्षपात नगरी पार्टीमा जिम्मेवारी दिन्छौँ, जिम्मेवारी सम्हाल्न्स् ।
अध्यक्ष ओलीले अहिलेको सरकारले गलत प्रचार बाहेक देश विकास गर्ने दृष्टिकोण नभएको आरोप लगाए ।
माधव नेपालसंग देश बिकासको कुनै भिजन नै नरहेको भन्दै ओलीले अहिलेसम्म समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा कहिल्यै बोलेको नसुनेको तर्क गरे ।
अध्यक्ष ओलीले अहिलेको सरकारले मन्त्रिपरिषद् समेत पूर्ण रुपमा गठन गर्न नसकेको भन्दै तमाशा मात्र गरेको बताए । त्यस्तै, अध्यक्ष ओलीले एमाले कर्कलाको पातको पानी जस्तो पार्टी नभएको भन्दै एमालेलाई ध्वस्त गर्ने प्रतिकृयावादीको कदम सफल नहुने दावी गरे ।
उनले सरकारले ल्याएको अध्यादेशको पनि विरोध गर्दै संसदलाई छल्न खोजिएको आरोप लगाए । ओलीले आफू लाग्ने हो भने माधवकुमार नेपाल समूहलाई १० प्रतिशत समेत पु¥याउन नसक्ने बनाइदिने दावी समेत गरे ।
अध्यक्ष ओलीले नेकपा एमालेमाथि तानाशाही, गौर कानुनी प्रवृत्ति देखाए त्यो महँगो पर्नजाने भन्दै चेतावनी दिए ।
प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय