हिमाल दैनिक
माधव नेपाल प्रचण्ड र देउवाको मल बन्न जानुभयो: बस्नेत 
mahesh basnet (1)
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टीलाई कमजोर बनाउने काममा लागेको गम्भीर आरोप लगाएका छन् । शुक्रबार साक्षात्कारमा बोल्दै नेता बस्नेतले भने,‘एमालेलाई कमजोर बनाउने काममा यो सरकार व्यस्त छ । अध्यादेश जुन आएको छ, यसले त्यही पुष्टि गरेको छ । एमालेले कारबाही गरेका १४ जना सांसदलाई अहिलेसम्म पदमुक्त गरेको सूचना सभामुखबाट प्रकाशन गरिएको छेन् । अध्यादेश ल्याउनुको मुख्य उद्देश्य एमाले विभाजन गर्नेमात्रै देखियो ।’ उनले एमाले कमजोर पार्ने देउवा, दाहाल र सापकोटा तीनै जनालाई आगामी दिनमा महँगो पर्ने चेतावनी दिएका छन् । उनले अध्यादेश ल्याउनुको अर्को उद्देश्य भनेको आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतमा पुर्याउने षड्यन्त्र रचिएको सुनाए । तर, आगामी निर्वाचनमा पनि नेकपा (एमाले) नै अत्यधिक बहुमतका साथ आउने उनको दाबी थियो । ४० महिनाको अवधिमा ओली सरकारले विकास र समृद्धिको यात्रा अघि बढाएको स्मरण गराउँदै उनले अहिले ओलीको उक्त समृद्धिको यात्रामा ब्रेक लगाउने काम भएको पनि टिप्पणी गरे । उनले भने,‘केपी ओलीले सुरु गरेको समृद्धिको यात्रामा ब्रेक लगाउने काम भयो । एमाले ठूलो विभाजन गर्जनका साथ हुन्छ भनेर सुरु भएको चर्चा, अन्तिममा म्याउँ भएर टुँग्गिएको छ । माधव नेपालले हिजो बहुमत छ भन्नुहुन्थ्यो । म केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउँछु भन्नुहुन्थ्यो, अहिले उहाँ २० प्रतिशतमा पुग्नुभयो ।’ बस्नेतले वरिष्ठ नेता झलनाथ खनाल पनि माधव नेपालको पार्टीमा नजाने जिकिर गरेका छन् । उनले भने,‘अब माधव नेपाललाई सजिलो बनाउनेगरि १५ प्रतिशत वा १० प्रतिशतमात्रै प्रावधान राखेर अध्यादेश ल्याउँदैछ अरे । हामीले अवलम्बन गरेको संसदीय प्रणालीमा दलको महत्वपूर्ण भूमिका हु्न्छ ।’ उनले सभामुख सापकोटासमेत एमाले विभाजन गर्ने षड्यन्त्रमा लागेको भन्दै आक्रोश पोखे । उनले भने,‘उहाँ त्यो कमर्ममा किन मुछिनुभयो ? मैले बुझेको छैन । हेर्नुहोस, संसद माग गर्नेहरु नै आज संसदलाई अधिवेशन स्थगित् गर्ने ठाउँमा पुग्नुभयो । संसद् चलेको एक महिनाभित्र एसिड आक्रमणमा परेका पीडितको पक्षमा बनेको अध्यादेश अलपत्र पारियो । नागरिकता ऐनमा छलफल भएन । विभिन्न विद्येयकहरु अलपत्र पारियो । धेरै विद्येयक त्यहाँ थाँती थियो । यो सदन चल्न सक्दैन भन्ने कुरा उहाँले पुष्टि गर्नुभयो ।’ उनले सभामुखले आफू निश्पक्ष र स्वतन्त्र हुनुपर्ने र त्यहीअनुसार चल्नुपर्ने कुरा भुलेको पनि टिप्पणी गरे । उनले भने,‘उहाँ सभामुख भएपनि प्रचण्ड र देउवाको आदेशविरुद्ध जाने देखिएन । आफ्नो पार्टीको सरकार ढालेर अर्को पार्टीको नेतृत्वमा सरकार बनाउने भन्दै मावध नेपालसहित हाम्रा साथीहरु सर्वोच्च अदालतमा रिट बोकेर जाने काम गर्नुभयो । अदालतले कारबाही नगर्ने परमादेश जारी गरेको छ । यो अनौठो र विश्वमै नभएको फैसला हो । अदालतको यो फैसला सवत्र आलोचित भएको छ । एमालेका सांसदहरु सरकारमा हुँदा पार्टीको ह्वीप नलाग्ने भनेको थियो भने सरकार विस्तार भैसकेको हुन्थ्यो । भोलि यो अध्यादेशले कांग्रेस र माओवादीमा पनि असर पर्छ । माओवादीमा अहिले पनि विद्रोहको अवस्था छ । कांग्रेसका शीर्ष नेताहरुले यो अध्यादेशको विरोध गरेका छन् । अध्यादेश कांग्रेसको लागि घाँडो सावित हुनेछ ।’ नेकपामा हुँदा ओलीलाई अल्पमतमा पार्ने काम प्रचण्ड र माधव नेपालले गरेको पनि स्मरण गराए । उनले अहिलेपनि कांग्रेस र माओवादी मिल्दाभन्दा बढि नेकपा (एमाले) एक्लैको ११० संसद्मा सिट संख्या रहेको सुनाए । उनले माधव नेपाल पक्षमा नगएकाहरुलाई पार्टीमा उचित जिम्मेवारी दिने पनि बताए । माओवादी परित्याग गरी एमालेमा प्रवेश गरको नेताहरुलाई अहिलेपनि उचित भूमिका दिईएको बस्नेतको भनाई छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update