लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले विश्वासको मत पाएका छन् ।
लुम्बिनी प्रदेश सभामा सोमबार भएको मतदानमा केसीको पक्षमा ४२ मत परेको छ । विपक्षमा कसैले पनि मतदान गरेनन् भने एकजना सांसद तटस्थ रहेका थिए । लुम्बिनी प्रदेश सभा हाल ८० सदस्यीय रहेको छ ।
केसीको पक्षमा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । मतदानमा सभामुखबाहेक ४३ सांसदको उपस्थिति थियो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठक बहिष्कार गरेको छ । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तिले केसीको पक्षमा परेको ४२ मत प्रदेशसभाको बहुमत रहेकाले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।
यसअघि विश्वासको मत माग्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको आवधिक योजना व्यवहारमा देखिने गरी कार्यान्वयन गर्ने बताएका थिए ।
त्यस्तै समृद्ध प्रदेश खुशी जनताको नारा जनताले अनुभूति गर्ने गरी काम गर्ने उनले बताए । उनले कोरोना नियन्त्रण गरि जनताको जिवन रक्षाको प्रस्थानबिन्दु बनाएको बताए ।
एमाले संसदीय दलका नेता शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेर राजीनामा दिएसँगै केसीको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो । मुख्यमन्त्री केसीले नेकपा माओवादी, नेपाली काँग्रेस, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा सरकारको नेतृत्व गरेका हुन् ।
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्