नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्माले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन्।
गृहमन्त्री खाणको सचिवालयले दिएको जानकारी अनुसार, प्वक्ता विश्वकर्माले शुक्रबार मन्त्रीहरुको सरकारी निवास पुल्चोकस्थित गृहमन्त्रीको निवासमा पुगेर समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन्।
भेटवार्ताका अवसरमा गृहमन्त्री खाण र नेता विश्वकर्माबीच विगतमा भएको शान्ति प्रक्रिया र अघिल्लो सरकारसँग उक्त पार्टीका नेता चन्दले गरेको सम्झौतालाई सफलतापूर्वक टुंगोमा पुर्याउने विषयमा छलफल भएको थियो।
पूर्व माओवादी नेता चन्दले पछिल्लो राजनीतिक परिवर्तनप्रति असन्तुष्टि जनाउँदै पुनः राज्यविरुद्ध विद्रोहको नीति लिएर अर्धभूमिगत भएका थिए। तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वका पालामा चन्दले ओली सरकारसँग सहमति गर्दै शान्तिपूर्ण राजनीतिक गतिविधिमा सक्रिय हुने बताएका थिए।
अघिल्लो सरकारका पालामा भएका शान्ति प्रक्रियालाई सहमतिका आधारमा टुंग्याउने विषयमा खाण र विश्वकर्माबीच सकारात्मक छलफल भएको बताइएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय