हिमाल दैनिक
सरकारले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते अपराह्न ४ः०० बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बोलाउन सिफारिस गरेको हो। बैठकपछि सरकारले गरेको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संसद् अधिवेशनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको बताए। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक विवाद झेल्न नसकेपछि पुस ५ मा विघटन गरेको प्रतिनिधि सभालाई फागुन ११ गते सर्वोच्च अदालतले बदर गरिदिएपछि ओलीले पुनः जेठको पहिलो साता दोस्रो पटक संसद विघटन गरेका थिए। तर, असार २८ गते पुनः सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गर्दै विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न र संसद बोलाउन आदेश जारी गरेपछि साउन ३ गते संसद अघिवेशन बोलाइएको थियो। पहिलो दिनको दोस्रो बैठकबाट झण्डै दुई तिहाई बहुमत सदस्यको समर्थन पाएको सरकारले संसदको नियमित बैठक सुचारु गर्दै विधेयकहरु भने पारित गर्ने परिस्थिति नभएपछि सरकारले साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेको थियो। संसदभित्र सरकारको पक्षमा बहुमत जुटाउन र नेकपा एमालेसँगै जनता समाजवादी पार्टीभित्रको आन्तरिक विवादले उत्पन्न विभाजनको सम्भावनालाई सहजीकरण गर्न सरकारले राजनीतिक दल सम्बन्धी संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि एमालेबाट माधवकुमार नेपाल समूह बाहिरिएर सरकारको पक्षमा उभिएपछि संसद अधिवेशन पुनः बोलाउन लागिएको हो। यसरी बोलाइएको संसद अधिवेशनबाट सरकारले यसअघि ओली नेतृत्वको सरकारले अध्यादेशका मार्फत जारी गरेको वार्षिक बजेटसँगै विनियोजन विधेयकका अतिरिक्त केही महत्वपूर्ण विधेयकहरु पारित गर्न पनि तत्काल संसद अधिवेशन बोलाउनु पर्ने परिस्थिति उत्पन्न भएको थियो।
प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update