राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको अधिवेशन भदौ २३ गतेका लागि आब्हान गरेकी छिन्।
लामो समयदेखि महत्वपूर्ण कानून निर्माण गर्नेदेखि चालु आर्थिक वर्षको वार्षिक बजेट अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्न समय घर्किँदै जाँदा शनिबार बसेको मन्त्रिपरिषदको सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले अधिवेशन आब्हान गरेकी हुन्।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा भदौ २३ गते बुधबार अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन नयाँ वानेश्वरस्थित संसद भवनमा बोलाएको जानकारी दिएका हुन्।
अघिल्लो सरकारले संसद विघटन गर्दै अध्यादेश मार्फत जारी गरेको आर्थिक अध्यादेश अर्थात वार्षिक बजेटलाई वर्तमान सरकारले परिमार्जन गर्दै नयाँ आर्थिक विधेयक असाजे ३ गतेभित्र पारित गराउनु पर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएपछि सरकारले अधिवेशन बोलाउन सिफारिस गरेको हो।
यसअघि संसदमा सरकारको पक्षमा स्पष्ट बहुमत प्राप्त गरी विधेयक तथा सरकारी प्रस्ताव पारित गर्ने अवस्था नदेखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको गठबन्धनको सरकारले साउन ३२ गते संसद अधिवेशन बिचैमा अन्त्य गरेको थियो।
त्यसको लगत्तै राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गर्दै नेकपा एमाले र समाजवादी जनता पार्टी नेपालको असन्तुष्ट पक्षलाई नयाँ दल गठनको वैधानिक आधार तयार पार्दै सरकारको पक्षमा बहुमत पुर्याउने कोशिश गरेको थियो।
सत्ताबाट अदालतको आदेशबाट बहिर्गमन हुन बाध्य भएका एमाले अध्यक्ष केपी शर्मा ओली र उनको दलले आगामी संसद अधिवेशनमा सरकारको विरुद्धमा सशक्त रुपमा उत्रिएर संसद अधिवेशनभित्र सरकार र सभामुखलाई कडा चुनौती दिने तयारी गरिरहेका छन्।
प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय