हिमाल दैनिक
पीएनजी बिरुद्ध नेपालको संघर्षपूर्ण जित, रोहित र सोमपालको उत्कृस्ट साझेदारी
241324573_1951967314966215_8619061136061934943_n
ओमान भ्रमणमा रहेको नेपालले विश्वकप लिग-२ को तयारी स्वरूप पपुवा न्यु गिनीसँगको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय मध्ये पहिलो खेल मंगलबार २ विकेटको जितेको छ। अल अमिरात क्रिकेट मैदानमा सम्पन्न खेलमा पपुवा न्यु गिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ८ विकेट क्षेतीमा ३९.३ ओभरमा भेटायो। लक्ष्य पछ्याउने क्रममा डेब्यू गरिरहेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ४६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए। १५ रन बनाएका भुर्तेललाई १२ औं ओभरमा चाड सोपरले एलबिडब्लु गर्दै साझेदारी तोडे। लगत्तै ओभरमा आसिफ पनि डोमिएन राभुबाट पुल सट खेल्दा डिप मीड विकेटमा क्याच आउट हुन पुगे। आसिफले ४६ बलमा ४ चौका मद्दतले ३० रन बनाए। कप्तान ज्ञानेन्द्र मल्ल राभुको सर्ट बल पुल गर्ने क्रममा २० बलमा ६ रन बनाएका मल्ल विकेटकिपरबाट क्याच आउट हुन पुगे। ९ रन बनएका आरिफ शेख पनि सोपरबाट एबिडब्लु हुन पुगे। त्यसपछि पनि नेपालको विकेट जाने शिलशिला कायमै रह्यो। ६ रन बनाएका शरद भेसावकरलाई पोकनाले विकेट पछाडि क्याच आउट गराए। २८ औं ओभरमा गौडी तोकाले १ रन बनाएका कुशल मल्ल र खाता नखोल्दै पवन सर्राफलाई लगातार बलमा पेभेलियन फर्काए। छैठौं नम्बरमा ब्याटिङ गरेका रोहित पौडेलले नवौं नम्बरमा आएका सोमपाल कामिसँग धैर्यतापूर्वक ब्याटिङ गर्दै नेपाललाई जितको दिशा दिए। दुवैले आठौं विकेटको लागि  ५२ रनको महत्वपूर्ण साझेदारी गरे। जितको लागि १ रन मात्र आवस्यक हुँदा रोहित टोकाबाट बोल्ड भए। त्यसअघि उनले ६५ बलमा २ चौका मद्दतले ४१ रन बनाए। सोमपाल कामिले ३२ बलमा १ चौका र १ छक्का मद्दतले अविजित २२ रन बनाउदै जितसम्म पुर्‍याए। पपुवा न्यु गिनीका लागि गौडी टोकाले ३ तथा डामियन राभु र चाड सोपरले समान १ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो। पपुवा न्यु गिनीको सुरूवात खराब रह्यो। इनिंग्सको दोस्रो ओभरमा डेब्यु गरेका नेपाली पेसर बिक्रम सोबले पहिलो बलमै १ रन बनाएका टोनी उरालाई बोल्ड गरे। सोब डेब्यु खेलको पहिलो बलमै विकेट लिने नेपालको पहिलो खेलाडी बन्न पुगे। सोबले चौथो ओभरमा कप्तान असद भालाको महत्वपूर्ण विकेट लिए। अमेरिका बिरुद्ध अर्धशतक बनाएका कप्तान भाला ४ रन बनाएर आरिफ शेखबाट क्याच आउट भए। तेस्रो विकेटको लागि ओपनर लेग सीयाका र चार्ल्स अमिनीले ५७ रनको साझेदारी गरे। १२ औं ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिप लामिछानेले २३ रन बनाएका अमिनीलाई विकेटकिपर आसिफ शेखबाट क्याच आउट गराए। लगत्तै ओभरमा देब्रे हाते स्पिनर कुशल मल्लले ३० रन बनाएका सियाकालाई आफैंले क्याच आउट गराए। पाँचौ विकेटको लागि सिसि बाउ र किप्लिन डोरीगाले २६ रनको साझेदारी गरे। पुनः साझेदारी तोड्ने क्रममा १४ रन बनाएका बाउलाई सन्दिपले क्याच आउट गराए। १५ रन बनाएका डोरिगालाई कुशलले क्याच आउट गराए भने सन्दिपले खाता नखोल्दै गौडी टोकालाई एलबिडब्लु गरे। त्यसपछि चाड सोपरले अविजित १७ रन बनाएता पनि विकेट जाने क्रम रोकिएन। नेपालको बलिङमा सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट  लिए भने बिक्रम सोब र कुशल मल्ल र सोमपाल कामीले समान २ विकेट लिए। खेलमा नेपालको लागि तिन जना खेलाडी कुशल भुर्तेल, आसिफ शेख र बिक्रम सोबले एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका छन्। बिनोद भण्डारी, करन केसी, अविनाश बोहरा, दिपेन्द्र ऐरी, गुल्सन झा र सुशन भारिलाई बाहिर राखिएको थियो। दिपेन्द्र र गुल्सन खुट्टाको चोटका कारण दोस्रो खेल पनि खेल्ने नखेल्ने अनिश्चित रहेको छ। पपुवा न्यु गिनीसंग नेपालले दोस्रो खेल सेप्टेम्बर १० तारिखमा खेल्नेछ।
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update