हिमाल दैनिक
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनले लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाएका छन्। संघीय संसदको आजदेखि सुरु हुने अधिवेशनको अगाडि बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सत्ता गठबन्धन र सरकारले लोकतन्त्रको हुर्मत लिन र समाप्त पार्न खोजेको आरोप लगाएका हुन्। वर्तमान सत्ता गडबन्धनलाई ‘कथित गठबन्धन’ को संज्ञा दिँदै त्यसमा रहेका दलले लोकतन्त्र मास्न लागेको भन्दै उनले गठबन्धनबाट लोकतन्त्रको रक्षा हुन नसक्ने दाबी गरे। त्यस्तै अध्यक्ष ओलीले सरकार लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियाबाट नभई परमादेशबाट बनेकाले जनताप्रति उत्तरदायी नहुने बताए। सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गरेको घटनाबाट प्रताडित र रुष्ट भएका ओलीले रातारात छापामार शैलीमा संसद अधिवेशन बन्द गरेर अध्यादेश ल्याएको भन्दै उक्त कदलाई लोकतन्त्रको उपहास भएको बताए। एक वर्षअघि ०७७ वैशाख ८ गते तत्कालिन संघीय समाजवादी पार्टी नेपाल विभाजनको रणनीति र योजना बनाएर राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गर्नुका साथै उक्त पार्टीका सांसदलाई अपहरणको शैलीमा जनकपुरदेखि राजधानी ल्याउने योजनामा संलग्न रहेका ओलीले सत्ता बाहिर पुगेपछि भने राजनीतिक दलले अर्को दल फुटाउन अध्यादेश ल्याएर गरेको षडयन्त्र कल्पनाबाहिर नै घटना भएको धारणा राखे। देशको राजनीतिसँगै आम जनतामाझ अत्याधिक चर्चाको विषय बन्न पुगेको अमेरिक सहयोग सम्झौता (एमसीसी) प्रस्तावलाई सरकारको नेतृत्व गरिरहँदा सदनमा पेश गरेका र उक्त प्रस्ताव सभामुखले प्रक्रियामा अघि नबढाउँदा सभाामुख अग्निप्रसाद सापकोटासँगै आफ्नै पार्टीका नेताहरुको चर्को आलोचना गर्दैआएका ओलीले सत्ता बाहिर पुगेपछि भने भाका फेर्दै भने, ‘अहिले छलफलका रूपमा आएको र संसदमा आएपछि धारणा बनाउने छौँ।’ एमसीसी सम्झौता आफूहरूले नगरेको र काँधमा हाल्न जरुरी पनि नरहेको उनको भनाई छ। त्यस्तै ओलीले सभामुखको भूमिका एमाले बिरुद्धको षडयन्त्रको मतियारको रुपमा रहेको आरोप लगाए। यसैगरी अध्यक्ष ओलीले एमालेले कारवाही गरेका र हाल नेकपा (एकीकृत समाजवादी)मा रहेका १४ जना सांसद नै नभएको दावी गर्दै नेपाल सहित १४ जना सांसद बुधवारको बैठकमा उपस्थित भए संसद बैठक चल्नै नसक्ने धम्की दिए। बैठकले नेकपा एमालेले राजनीतिक दल सम्बन्धिको अध्यादेशबारे विरोध गर्ने निर्णय गरेको छ भने सभामुखले माओवादी कार्यकर्ताको भूमिका खेलेको निष्कर्ष निकालेको छ।
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update