लियोनल मेसीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई जिताउने क्रममा नयाँ कीर्तिमान बनाएका छन्।
शुक्रबार बिहान घरेलु मैदानमा फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकन छनोटमा अर्जेन्टिनाले मेसीको तीन गोलको सहयोगमा बोलिभियालाई ३-० गोल अन्तरले हरायो।
बार्सिलोनाबाट यसै सिजन पेरिस सेण्ड जर्मन (पिएसजी) पुगेका मेसीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेका थिए।
मेसीले खेलको १४ मिनेटमा पहिलो गोल गरे। ६४ मिनेटमा उनले टिमको अग्रता दोब्बर पारे। ८८ मिनेटमा मेसीले ह्याट्रिक पूरा गरेका थिए।
पहिलो गोल मेसीले लियान्द्रो पराडेजको पासमा डिबक्स बाहिरबाट आकर्षक गोल गरे। दोस्रो गोल डिबक्स भित्र बोलिभियाका ४ डिफेन्सलाई बिट मार्दै गरेका थिए। तेस्रो गोल भने बोलिभियाको गोलरक्षकको रिबाउण्डमा सम्भव भएको थियो।
यो तीन गोलसँगै मेसीले ब्राजिलका पेलेको कीर्तिमान तोडेका छन्।
पेलेले आफ्नो समयमा ७७ गोल गर्दै दक्षिण अमेरिकी मुलुकबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान राखेका थिए। पेलेको कीर्तिमान तोड्ने क्रममा मेसीले बोलिभियाविरुद्ध ३ गोल गर्दै गोल संख्या ७९ पुर्याए। मेसीलाई घरेलु दर्शकले समेत साथ दिएका थिए ।
जितसँगै कतार बिश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ८ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा छ । पहिलो स्थानमा ब्राजिल छ, उसले ८ खेलबाट सतप्रतिशत जित निकालेको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय