हिमाल दैनिक
एमाले विरोधकाबीच सदनको कारबाही सूचारु
pratinidhi-sabha-abarudh
नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरोध गरेका छन्। शुक्रबार अपरान्ह १ः१५ बजे सुरु भएको पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ एमाले सांसदहरुले आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई सभामुखले संविधान र कानूनसँगै नियमावली बमोजिम कारबाही नगरेर दल विभाजनका लागि भूमिका निर्वाह गरेको भन्दै विरोधमा उत्रिएपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। करिब १ः५३ बजे सभामुखले दोस्रो बैठक सुरु गरेपछि पनि एमाले सदस्यहरुले वेल घेराउ गर्दै नारावाजी कायम गरे। सभामुख सापकोटाले एमाले सदस्यहरुले उठाएको विषयमा सदनको पर्याप्त ध्यानाकर्षण भएको भन्दै बैठक सूचारु गर्न सहज वातावरण बनाउन आग्रह गरेका थिए। उनले राष्ट्रका सामू धेरै महत्वपूर्ण विषयबारे सदनमा छलफल गर्न जरुरी भएको भन्दै यसका लागि जिम्मेवार प्रतिपक्षको आवश्यकता भएको बताए। साथै उनले लामो समय संसदीय अभ्यास र अनुभव रहेको भन्दै अवरोध बन्द गर्न आग्रह गरे। सभामुखको आग्रहका बाबजूद पनि एमालेको अवरोध कायम रहेपछि सभामुख सापकोटाले विरोधकैबिचमा संसद सचिवालयको कार्यसूचि अनुसार, चालु आर्थिक वर्षको वार्षिक बजेट सम्बन्धि अध्यादेशबारे नेमकिपाका सांसद प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना पेश गर्न समय दिए। आफ्नै सिटबाट बोल्न समय दिएपछि सुवालले आफ्नो विरोधको सूचना भन्दा बहुचर्चित अमेरिकी सहयोग सम्झौता (एमसीसी)को विषयमा विरोध गर्दै यसको विरोधमा सडकमा उत्रिएका नागरिकलाई धरपकड गरिएको भन्दै सडकमा विरोध गर्न नपाउने हो भने कांग्रेस कार्यालयमा विरोध गर्ने भनि प्रश्न गरे। साथै उनले सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्ववर्ती सरकारले पेश गरेको अध्यादेश जस्ताको तस्तै पारित गरेर एमालेलाई एमसीसीमा लोलीपप देखाएको भन्दै यसमा नफस्न पनि सुझाव दिए। उनले आफ्ना अभिव्यक्ति राखेपछि उनले आफ्नो विरोधको प्रस्ताव फिर्ता लिएको बताएको सभामुखले जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update