हिमाल दैनिक
कांग्रेसको अधिवेशन कार्यतालिका फेरि फेरियो
241431015_588023322338851_1960318197365095437_n
नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन अन्तर्गतको अधिवेशन कार्यतालिका फेरि संशोधन गरेको छ। पूर्व निर्धारित कार्यतालिकामा पटक पटक परिवर्तन हुँदै र अधिवेशन अन्यौल बन्दै गएको अवस्थामा पछिल्लो पटक भदौ १८ गतेदेखि सुरु भएको गाउँ÷नगर वडा तहको अधिवेशन सबै जिल्लामा पूर्व निर्धारित कार्यतालिका अनुसार सम्पन्न हुन नसकेपछि पार्टीले बाँकी रहेका जिल्लाको वडादेखि बाँकी तहको अधिवेशन कार्यतालिका परिमार्जन गरेको हो। पार्टीभित्रका गुट, उपगटबीचको स्वार्थका कारण क्रियाशील सदस्यताको विवाद सुल्झिन नसकेपछि पार्टीले निर्वाचन समितिमार्फत २० जिल्लाको क्रियाशील सदस्यता नामावली प्रकाशित गर्न सकेको छैन। यसरी क्रियाशील सदस्यता नामावली समयमा प्रकाशित गर्न नसकेपछि कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले शुक्रबार एक विज्ञप्ति मार्फत बाँकी रहेका वडादेखि प्रदेश, क्षेत्र र जिल्ला अधिवेशनको कार्यतालिका परिमार्जन भएको जानकारी दिएका छन्। संशोधित कार्यतालिका अनुसार अधिवेशन हुन बाँकी २० जिल्लामा गाउँ÷नगर वडा अधिवेशन आगामी असोज ५ गते तोकिएको छ। त्यस्तै गाउँ÷नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते निर्धारण गरिएको छ। एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते तोकिएको छ। पार्टीका क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका सबै ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाँकी २० जिल्लाको क्रियाशील सदस्यता नामावली समितिलाई हालसम्म प्राप्त नभएको समिति संयोजक यादवले जानकारी दिएका छन्। प्रदेश र केन्द्रको अधिवेशनको मिति भने यथावत छ। कांग्रेसले यस अघि नै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिसकेको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update