हिमाल दैनिक
पीएनजी बिरुद्ध नेपालकाे १५१ रनकाे जित, सन्दीपले लिए ६ विकेट
Sandeep
दोस्रो एक दिवसीयमा नेपालले पपुवा न्युगिनीमाथि सानदार जित निकालेको छ। ओमानको अल अमेरात क्रिकेट रंगशालामा शुक्रबार  भएको पहिलो डे नाइट एक दिवसीय क्रिकेटमा नेपालले पपुवा न्यूगिनीमाथि १५१ रनको फराकिलो जित निकालेको हो। नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.१ ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो। पिएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानले ६ विकेट लिएका थिए। उनको कसिलो बलिङ सामू पीएनजीका कुनै पनि ब्याट्सम्यान खुलेर खेल्न सकेनन्। एकदिवसीय खेलमा करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा सन्दिपले ५.१ ओभरमा केवल ११ रन मात्र खर्चिए। यसअघि सन्दीपको एकदिवसीय खेलमा उत्कृष्ट बलिङ ६ विकेट लिएर १६ रन खर्चिनु थियो। पिएनजीविरुद्ध नेपालका सन्दीपबाहेक सोमपाल कामी, विक्रम शोव र सुसन भारीले एक-एक विकेट लिए। लक्ष्य पछ्याउने क्रममा पीएनजीका लागि टोनी उराले सर्वाधिक १९ रन जोडे। चार्लेश आमिनीले १६ रन बनाउँदा नोर्मानले १२, शेशे बाउले ११ तथा टोकाले १० रन जोडे। बाँकी कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। पिएनजीले तेस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट गुमाएको थियो। सोमपाललाई पहिलो बलमा चौका प्रहार गरेका लिगा सैकाले दोस्रो बल डट खेलेका थिए । तेस्रो बलमा भने उनलाई सोमपालले बोल्ड आउट गर्दै पभेलियनको बाटो देखाए। आउट हुनु अघि उनले ३ बलमा ४ रन जोडेका थिए। नेपालका लागि दोस्रो सफलता यसै सिरिजमा डेब्यु गरेका बिक्रम सोबले दिलाए। टिमको स्कोर ११ रन भएका बेला कप्तान असद भालालाई बिक्रमले आउट गराए। कप्तान भाला १ रन जोडेर आउट भएका हुन् । उनलाई विकेटकिपर विनोद भण्डारीले क्याच गरेका थिए । तेस्रो विकेट भने नेपालले रनआउट मार्फत प्राप्त गरेको थियो। १० औं ओभरमा टोनी उरा रन आउट भएका थिए। सन्दीप लामिछानेले गरेको बलिङमा रोहित पौडेलले उरालाई रनआउट गराउँदै पभेलियन पठाए। उरा व्यक्तिगत १९ रन बनाएर आउट भएका हुन्। उनले ३५ बल फेस गर्दा २ चौका प्रहार गरेका थिए। टिमको स्कोर ४४ रन भएका बेला पीएनजीले चौथो विकेट गुमायो। उसका चार्लेस अमिनी व्यक्तिगत १६ रन बनाएर आउट भए। उनलाई सन्दीप लामिछानेले एलबीडब्ल्यू आउट गरेका थिए। ५२ रनमा पीएनजीले पाँचौं विकेट गुम्यो। किप्लिन डोरिगालाई आउट गर्दै सन्दीपले व्यक्तिगत दोस्रो विकेट लिए। यसैगरी टिमको स्कोर ६५ रन भएको बेला १६ औं ओभरको अन्तिम बलमा सन्दीपले व्यक्तिगत तेस्रो विकेट लिँदा सेसे बोउ ११ रन बनाएर आउट भए। यसैगरी सन्दीपले चाड सुपर कावुरा मोरेरालाई पनि आउट गर्दै नेपाललाई सहज जितर्फ अघि बढाए। नोरमान भानुलाई आउट गर्दै सुशन भारीले नेपाललाई नवौं विकेट दिलाए। अन्तिम विकेट सन्दीपले लिएपछि पीएनजी ८२ रनमा समेटिन पुग्यो। कावुवा मोरेरालाई सन्दीपले आउट गरेका थिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ बल बाँकी छँदै सवै विकेट गुमाएर २३३  रन बनायो। नेपालको धरमराएको पारिलाई रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र करण केसीले उकासेका थिए। रोहितले करियरकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ८६ रन बनाए। कप्तान मल्लले ४५ र केसीले ४२ रन बनाएका थिए। नेपालका लागि आशिफ शेख र कुशल भुर्तेलले ओपनिङ गरेका थिए। टिमको स्कोर ६ रन भएका बेला नेपालले आशिफ शेखको विकेट गुमाएको थियो । शेख व्यक्तिगत ३ रन बनाएर आउट भएका थिए। त्यसपछि क्रिजमा आएका कप्तान ज्ञानेन्द्र मल्लले सम्हालिएर ब्याटिङ गरेका थिए । तर टिमको स्कोर ९ रन भएका बेला अर्का ओपनर कुशल भुर्तेल पनि व्यक्तिगत ३ रनमा पभेलियन फर्किए। शुरुमै दबाबमा आएको नेपालका लागि रोहित पौडेल र कप्तान मल्लले सम्हालिएर प्रदर्शन गरे। फलस्वरुप नेपालले अहिलेसम्म एक दिवसीय क्रिकेटमा बनाएको सर्वाधिक रनको साझेदारी पनि यी दुई खेलाडीले आफ्नो नाममा सार्न सफल भए । मल्ल र  पौडेलले तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए। यो  नै  नेपालका ब्याट्सम्यानले एक दिवसीय क्रिकेटमा गरेको अहिलेसम्मकै धेरै साझेदारी पनि हो । कप्तान मल्ल टिमको स्कोर ९८ रन भएका बेला आउट हुन पुगेका थिए। मल्ल व्यक्तिगत ४५ रन बनाएर पभेलियन फर्किएका थिए । उनले ७० बल फेस गर्दा २ छक्का र ३ चौका प्रहार गरेका थिए।  त्यसपछि नेपालले चौथो विकेट १३९ रनमा गुमाएको थियो। चौथो विकेटको रुपमा विनोद भण्डारी रन आउट हुन पुगे। उनी व्यक्तिगत १७ रन बनाएर आउट हुँदा ३६ बल फेस गरेका थिए। लगत्तै कुशल मल्ल १ रन जोडेर आउट भएका थिए । सोमपाल कामी पनि धेरै बेर टिक्न सकेनन् । सोमपाल ११ रन जोडेर आउट हुँदा नेपालको स्कोर ६–१६६ रन भएको थियो । त्यसपछि क्रिजमा आएका करण केसी र रोहित पौडेलले नेपालको पारि अघि बढाउँदै २०० रन कटाए। सातौं विकेटको रुपमा करण केसी ४२ रन जोडेर आउट भए। उनले २६ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै आक्रामक पारि खेलेका थिए। लगत्तै रोहित पौडेल पनि आउट भएपछि नेपालले आठौं विकेट गुमाएको थियो। रोहित पौडेलले आज ८६ रन जोड्दा १२३ बल फेस गरेका थिए। उनले ३ छक्का र २ चौका प्रहार गरे। बिक्रम सोब १ रन बनाएर आउट हुँदा अन्तिम विकेटको रुपमा सन्दीप लामिछाने पहिलो बलमै रनआउट भएपछि खाता नै खोल्न सकेनन्। पीएनजीका लागि चाड सोपरले सर्वाधिक ३ विकेट लिँदा कबुवा मरेरा र नोरमान भानुवाले समान दुई दुई विकेट लिए। यसअघि पहिले खेलमा नेपालले पिएनजीलाई २ विकेटले हराएको थियो।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update