हिमाल दैनिक
सरकारले एमसीसीलाई सदनमा लगे इतिहासकै ठूलो अपराध हुन्छ: बिश्वकर्मा
khadka-bahdur-bishwkarma
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले एमसिसी सम्झौता अघि नबढाउन ध्यानाकर्षण गराउने उदेश्यले पहिलो चरणको आन्दोलन घोषणा गरिएको जानकारी दिए । उनले आगामी भाद्र २८ गते काठमाडौंमा बृहत प्रदर्शन गर्ने जानकारी दिए । एकहप्ते आन्दोलनका कार्यक्रमपछि पनि एमसीसी अघि बढाए कडा आन्दोलन गर्ने उनले चेतावनी दिए । विश्वकर्माले एमसीसी अघि बढाउने मुर्खता नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरे । यसअघिको एमाले नेतृत्वको बहुमतको सरकार भएपनि जनताको विरोध हुने भएकाले एमसीसीलाई ओलीले अघि नबढाएको हुनसक्ने उनले बताए । उनले एमसीसीलाई गठबन्धन सरकारले सदनमा लगे इतिहासकै ठूलो अपराध हुने जिकिर गरे । बिश्वकर्माले युरोपियन अमेरिकन युनियन लगाएत बिदेशी शक्तिसंगको सम्झौतामा गठबन्धन सरकार बनेको आरोप लगाए । उनले राजनीतिक दलका नेताहरूका कारण देश सङ्कटको भुमरीमा फसेकाले नै आफुहरु बाहिर आउनुपरेको धारणा राखे । फरक प्रसंगमा उनले संसदीय प्रणालीका बारेमा जनमत संग्रह गर्नुपर्ने र जनताको जस्तोसुकै फैसलालाई पनि स्वीकार गर्न आफुहरु तयार रहेको बताए । विश्वकर्माले सरकारसंग भएको तीन बुँदे सम्झौताको पूर्ण पालना हुनुपर्ने भन्दै सहमति कार्यान्वयन नभए जनतामाझ जाने चेतावनी दिए ।
प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update