हिमाल दैनिक
प्रतिनिधिसभाको नवौँ अधिवेशनको बैठक आज आइतबार पनि बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलो संसद् बैठक आज अपराह्न १ बजे बस्न लागेको हो । आज प्रतिनिधिसभा र राष्ट्रयसभा दुबै सदनका बैठक बस्दैछन् । सरकारले प्रमुख प्रतिपक्षी दल एमालेको विरोध र नाराबाजीका बाबजुत शुक्रबार मात्र प्रतिस्थापन बजेट ल्याएको  थियो, भने त्यसको अघिल्लो दिन राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस भएको थियो । एमालेले पार्टीका तत्कालीन १४ सांसद्को कारबाही सभामुख अग्निप्रसाद सापकोटाले रोकेको भन्दै रुष्ट छ । दल विभाजन भइसकेपछि मात्रै निर्णय गरिरहनु नपर्ने भन्दै सूचना सुनाएपछि एमाले निरन्तर सदनमा विरोध गर्दै आएको छ । शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले पनि सदनमा विरोध कायमै राख्ने तर संसदीय मर्यादाको ख्याल गर्न पनि सांसदहरूलाई निर्देशन दिएको छ । एमाले सांसद नारदमुनी रानाले संसदमा भइरहेको विरोधको जिम्मेवार सभामुख सापकोटा रहेको बताए । ‘सभामुखले गल्ती स्वीकार नगरेसम्म बैठक चल्न दिँदैनौ, आजको बैठकमा पनि अवरोध गर्छाै,’ उनले भने । सभामुख सापकोटाले भनेअदालतमा विचाराधीन मुद्दाको विषयमा संसदमा छलफल हुन नसक्ने बताउँदै आएका छन् । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ। रेल्वे अध्यादेश, २०७८ लगायतका दर्जन अध्यादेश पेस गर्ने कार्यसूची छ ।
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update