हिमाल दैनिक
सत्तारुढ गठबन्धनको बैठक अहिले जारी छ । बालुवाटार स्थित प्रधानमन्त्री निवास बालुवाटारमा जारी उक्त बैठकमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ । सरकार गठनको दुई महिना हुँदा पनि मन्त्रिपरिषद् विस्तार नहुँदा प्रधानमन्त्री देउबाको आलोचना हुँदै आएको छ । तर, अझै केही दिन मन्त्रिपरिषद् विस्तारको सम्भावना नरहेको स्रोतले जनाएको छ । यद्यपि कुन मन्त्रालय कसलाई भन्ने विषय भने टुंग्याउने तयारी भएको जनाइएको छ । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद अवरोध गरिरहेको तथा एमाले विभाजनको मुद्दा सर्वोच्च अदालतमा पुगेकाले त्यहाँबाट आउने फैसलापछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनमा आवद्ध दल सहमत भएका छन् । गठबन्धनमा दल विभाजनसम्बन्धी अध्यादेश के गर्ने भन्ने विषय पनि छलफलमा छ । अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा गठबन्धनमा एकमत छैन । तथापि एमाले विभाजनको फैसला भदौ २८ मा आउने सम्भावना भएकाले सोही आधारमा विधेयकलाई के गर्ने भन्ने निर्णय गर्ने गठबन्धनमा सहमति छ ।
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update