हिमाल दैनिक
प्रदेश २ मा लोसपा बन्यो प्रमुख प्रतिपक्षी दल
losapa-11631426176
जनता समाजवादीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी (लोसपा) प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल भएको छ। जनता समाजवादी पार्टीबाट अलगिएपछि प्रदेश २ सभाका १६ जना सांसदले लोसपामा सनाखत गरेसँगै लोसपा प्रमुख प्रतिपक्षीको भूमिकामा देखिएको हो। १६ जना सांसले सनाखत गरेसँगै लोसपा प्रदेश सभामा तेस्रो ठूलो दल बनेको छ। सबैभन्दा ठूलो दल जसपाका ३८ सांसद छन् । दोस्रो ठूलो दल कांग्रेससँग १९ सांसद छन् । जसपा र कांग्रेस सत्ता साझेदार दल हुन्। तेस्रो ठूलो दल लोसपासँग १६ र पाँचौ ठूलो दल नेकपा एमालेसँग ८ सांसद छन् । लोसपा र एमाले भने प्रतिपक्षमा छन्। चौथो ठूलो दल नेकपा एकीकृत समाजवादी भने सरकारमा जाने तयारीमा छ । एकिकृत समाजवादीसँग १३ सांसद छन् । सत्तासाझेदार नेकपा माओवादी केन्द्रसँग ८ जना सांसद रहेका छन् । निर्वाचन आयोगले प्रदेश २ मा लोसपाको पक्षमा सनाखत गरेका १६ जनालाई आधिकारिकता दिएको छ। लोसपाको पक्षमा उपेन्द्र महतो, जानकीशरण साह, गौरीनारायण साह, परमेश्वर साह सुडी, सुरिताकुमारी साह, बबिताकुमारी, बाबुलाल साहकानु, निलमदेवी भूमिहारीन रहेका छन् । यस्तै अभिरामशर्मा, रानीकुमारी तिवारी, जयनुल राइन, अलकाकुमारी झा, डिम्पल झा, जितेन्द्र कुमार सोनार र रमेशकुमार कुर्मी लोसपासँग छन् । उनीहरू १५ जना पूर्व राजपाका हुन् । पूर्व समाजवादी पार्टीबाट एक जना प्रह्लादगिरी गोस्वामीले लोसपाको पक्षमा सनाखत गरेका छन् । लोसपाको पक्षमा सनाखत गर्ने सांसदहरूलाई निर्वाचन आयोगले मान्यता दिएको बताउँदै सांसद परमेश्वर साहले दलको विधान लेख्न, अनुमोदन गर्न र दलको नेता चयन हुन हप्ता दिन लाग्ने बताए । लोसपा प्रदेश २ मा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update