जतिन्दर सिंहको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतकको सहयोगमा ओमानले आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत आफ्नो एघारौं खेलमा नेपाललाई ५ विकेटले हराएको छ।
ओमान क्रिकेट एकेडेमीको मैदानमा १९७ रनको सामान्य लक्ष्य पाएको घरेलु टोलीले ५ विकेट गुमाएर ३१.१ ओभरमा पूरा गर्यो।
ओमानको जितमा जतिन्दर सिंहले ६२ बलमा १२ चौका र ६ छक्का सहित सर्वाधिक १ सय ७ रनको विष्फोटक शतकीय इनिङ खेल्दै सहज जित दिलाए । जतिन्दरले कुशल मल्ललाई चौका प्रहार गर्दै ६० बलमा शतक प्रहार गरेका थिए । जतिन्दर ओमानबाट ओडिआईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।
त्यस्तै मोहम्मद नदिम ६५ बलमा २ चौका र १ छक्का सहित ३८ रनमा अविजित रहे । उनले विक्रम सोबलाई छक्का प्रहार गर्दै खेल सकाएका थिए ।
त्यसअघि जतिन्दरले आक्रामक ब्याटिङ गर्दै दोस्रो इनिङको सुरुवातदेखि नै ओमानलाई बलियो स्थितिमा पुर्याएका थिए । दोस्रो ओभरमा तीव्र गतिका बलर विक्रम सोबले दुई चौका र १ छक्का सहित कुल १८ रन खर्चेका थिए । पाँचौं ओभरमा सोमपाल कामीलाई जतिन्दर सिंहले ३ चौका र ३ छक्का सहित एकै ओभरमा ३० रन प्रहार गरेका थिए । आठौं ओभरमा करणले २० रन खर्चेका थिए । ओमान सामू नेपाली बलर निरिह सावित बने ।
जितेन्दरले आउन खानसँग मिलेर ९८ रनको साझेदारी गरेपछि ओमानले पावर प्ले (१० ओभर) भित्रै १ सय रनको स्कोर पार गरेको थियो ।
सन्दीप लामिछाने पेट दुखेमा कारण बलिङ गर्न असमर्थ भएपछि नेपालको स्पिन आक्रमण कुशल मल्ल र सुशन भारीले संहालेका थिए ।
२५.३ ओभरमा कुशल मल्लकै बलमा जितेन्दर बाउन्ड्री एरियामा रोहित कुमार पौडेलको हातबाट क्याचआउट भए।
जितेन्दरले आठौं ओभरमा करन केसीको बलमा २० रन प्रहार गरेका थिए । करन इनिङको महंगा बलर बने । उनले ५ ओभरमा ५२ रन खर्चिए र २ विकेट लिए ।
त्यसअघि कुशलले ओमानका कप्तान जीसन मक्सुदलाइ पनि आउट गरेका थिए । ओमानका मोहम्मद नदिमले ३८ रन बनाए ।
सोमपाल कामीले ४ ओभरमा १ मेडन सहित ३८ रन खर्चिदा विकेट लिन सकेनन् । विक्रम सोबले २.१ ओभरमा २९ रन खर्चे । कुशल मल्लले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । करणले ५ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । सुशान भारीको नाममा एक विकेट रह्यो ।
त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४७.४ ओभरमा १ सय ९६ रनमा अल आउट भएको थियो । नेपालका लागि आसिफले १ सय १२ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ९० रनको योगदान दिए । आसिफ बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । ३६ औं ओभरको तेस्रो बलमा तीव्र गतिका बलर बिलाल खानले योर्कर बलमा बोल्ड गरेपछि आसिफ करिअरको पहिलो शतक बनाउनबाट १० रनले चुकेका थिए । त्यसअघि आसिफले ६४ बलमा आफ्नो ओडिआई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए ।
ओमान ११ खेलमा ९ मा जित र २ मा हार सहित १९ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।
नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । नेपाल ६ खेलमा ३ मा जित र ३ मा हार सहित ६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्