पोखरा । कोभिडको दोस्रो लहरसँगै पोखरा र आसपासका पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा ठप्प छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीले सबै पर्यटकीय स्थल खोल्न सामूहिक छलफल चलाएको छ।
विश्व पर्यटन बजार खुलिसकेका अवस्थामा पोखराका पर्यटकीय स्थल बन्द हुनु दुखद हुने भन्दै सहभागीहरूले स्वास्थ्य मापदण्ड पालना गरेर खुला गर्नुपर्ने बताए । नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटनलाई खोल्नु अनिवार्य भैसकेको बताए । नाट्टाले पर्यटकीय क्षेत्रहरूको सरसफाइ सँगै पर्यटक घुम्ने वातावरण बनाउन पहल थालेको छ ।
नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा कोरोना प्रभावित पर्यटन मजदुरलाई १५ दिनको रोजगारी दिने गरी सरसफाइ कार्ययोजना ल्याएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले समयमै गन्तव्य खुला नगरे पर्यटन बजार अझै सुस्ताउने बताए । ‘अब खोल्नैपर्छ । नत्र नेपाल आउन चाहेका पर्यटकहरू पनि अन्यत्र लाग्छन्,’ उनले भने, ‘पहिले सरकारको पर्यटन नीति स्पष्ट हुनुपर्छ । हामी त्यही देखाएर पर्यटक बोलाउँछौँ ।’
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक नवीन पोखरेलले कोरोना प्रभावित पर्यटनलाई चलायमान बनाउने गरी सबैले आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरे ।
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय