हिमाल दैनिक
प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकार गम्भीर रहेको बताएका छन्। बुधबार ललितपुरमा नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकार गम्भीर रहेको र विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताएका हुन् । बिद्यालय शिक्षा स्थानीय पालिकाको मुख्य जिम्मेवारी रहेतापनि संघीय सरकारले स्रोत साधान र कार्यक्रम सहित बिद्यालय शिक्षाको बिकासमा सहयोग गरिरहेको उनले बताए ।   उनले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा लाग्न आग्रह पनि गरे । उनले भूकम्पपछि क्षतिग्रस्त भएका अधिकांश बिद्यालय पूननिर्माण भइसकेको भन्दै बाँकी बिद्यालय पनि छिटै पूननिर्माण हुने बताए । विद्यालयहरुको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्ने उनको भनाई छ । त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा जनताले प्रत्यक्ष रुपमा विभिन्न लाभ प्राप्त गरेको भन्दै पुनर्निर्माणका क्रममा स्थानीय मौलिक प्रविधिको विकास र प्रयोगसमेत भएको जानकारी गराए । जापानको ऋण सहयोगमा रु १२ करोड तीन लाखको लागतमा सो विद्यालय निर्माण गरेको हो । प्राधिकरणअन्तर्गत भूकम्पबाट क्षति पुगेका ३२ जिल्लाका सात हजार ५५३ विद्यालयमध्ये हालसम्म ६ हजार ६४४ विद्यालयको पुनर्निर्माण भइसकेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update