हिमाल दैनिक
राज्यलाई राजस्व र उपभोक्तालाई बजार भाउमा ठग्दैछन् यी डण्डी उद्योगहरु...
Untitled design
संशोधित बजेटमार्फत फलामजन्य कच्चा पदार्थ (स्पन्ज आइरन) आयतमा अर्बौँ रुपैयाँ राजस्व छुट पाएकै फलामे डण्डी उद्योगहरुले सरकारको नीति विपरित नेपाली बजारमा छडको मूल्यमा भारी बृद्धि गरेर उपभोक्ताको शोषण गर्न लागिपरेकोे आरोप लाग्न थालेको छ। सरकारका अर्थमन्त्री जनार्दन शर्माले केही दिनअघि प्रतिनिधि सभामा प्रस्तुत गरेको सरकारको वार्षिक बजेटमा स्वदेशी बस्तुको बृहत उत्पादन, बजारीकरण, प्रयोग एवं निकासी प्रबद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान संचालन गर्ने नारासहित फलामे डण्डी उत्पादनको कच्चा पदार्थ स्पन्ज आइरन आयातमा यसअघि लाग्दै आएको भन्सार तथा अन्तशुल्कमा छुट दिने घोषणा गरे। तर, सरकारी घोषणाको केही दिन बित्न नपाउँदै तिनै डण्डी उद्योग कम्पनीले बजारमा एक महिना अघिसम्म प्रति केजी ७८ देखि ८० रुपैयाँमा उपलब्ध गराउँदै आएको छडमा भारी मूल्यबृद्धि गर्दै प्रति केजी ८६ रुपैयाँसम्म कायम गर्दा उपभोक्ता थप मारमा पर्न गएको गुनासो एक फलामे छड डिपो संचालकले गरे। फलामे छड उत्पादनका लागि आवश्यक स्पन्ज आइरन तथा बिलेडको आयातमा लाग्दै आएको भन्सार महसुल तथा अन्तशुल्कमध्ये स्पन्ज आइरन आयातमा लाग्दै आएको भन्सार र अन्तशुल्क छुट दिएपछि बिलेड आयातमार्फत छड उत्पादन गर्दै आएका डण्डी उत्पादक तथा उद्योगीहरुले आपत्ति समेत प्रकट गर्न थालेका छन्। एकातिर स्पन्ज आइरन आयातमा भन्सार महसुलसँगै अन्तशुल्क छुटको नाउँमा ३ अर्ब रुपैयाँ भन्दा बढी राजस्व छुट लिन सफल आधा दर्जन छड उद्योगीहरुले नै बजेटबाट छुटको सहुलियत पाएको एक हप्ता नबित्दै छडको बजार भाउ बढाएर एकाधिकार र कालोबजारीको सुरुवात गरेको आरोप लाग्न थालेको छ। स्पन्ज आइरन र बिलेट आयातमा गरिएको राजस्व महसुलमा भएको परिवर्तन र छुटबारे बिलेट आयात गरी छड उत्पादन गर्दै आएका एक उद्योगीले सरकार र अर्थमन्त्री शर्माले लिएको नीति र नियतमाथि समेत प्रश्न उठाए। नाम उल्लेख नगर्ने सर्तमा त्यी व्यवसायीले भने, ‘कोरोना महामारीबाट आक्रान्त जनताको जीवन रक्षाका लागि आवश्यक औषधी उत्पादनको कच्चा पदार्थ आयातमा भन्सार महसुल छुट दिन नसकेको राज्यले आधा दर्जन छड उद्योगीलाई स्पन्ज आइरन आयातमा छुट दिने निर्णयमा नीतिगत त्रुटि मात्र होइन व्यक्तिगत लाभहानी र लेनदेनको आशंका बढेको छ।’ यसरी सरकारी नीतिको प्रत्यक्ष फाइदा पाउने फलामे छड उद्योगहरुको सूचिमा स्क्रयाप तथा स्पन्ज आइरन आयात गरी छड उत्पादन गर्दैै आएका जगदम्बा स्टील उद्योग, अम्बे स्टील, पशुपति स्टील, लक्ष्मी स्टील, सर्वोत्तम स्टील, नारायणी स्टील र अशोका स्टील उद्योग परेका छन्। तर, विदेशबाट सोझै बिलेट आयात गरी छड उत्पादन गर्दै आएको प्रिमीयर स्टिल उद्योगका लगानीकर्ता उद्योमी पवन शारडाले सरकार र केही छड उत्पादन कम्पनीका लगानीकर्ताबीच बिलेट आयात गरी छड उत्पादन गर्दै आएका करिब दुई दर्जन फलामे छड उद्योगको हत्याका लागि सुपारी दिने र लिने शैलीमा निर्णय भएको आरोप लगाए। उनले भने, ‘कुनै पनि उद्योग, व्यवसायीले आफ्नो लगानीमार्फत व्यवसाय संचालन तथा मुनाफा कमाउने लक्ष्य राख्नु स्वभाविक हो। तर, अहिले त, केही छड उद्योगका लगानीकर्ताले अरु कम्पनीको घाँटी रेट्न सुपारी दिने र लिने जस्तोगरी बिलेट र स्पन्ज आइरत आयातको भन्सार महसुल र अन्तशुल्कमा विभेद गरियो।’ तर, सरकारका अर्थमन्त्री शर्मासँगै पछिल्लो नीतिबाट लाभान्हित उद्योग व्यवसायीले सरकारको पछिल्लो नीतिले स्वदेशमै रोजगारीको अवसर बृद्धि, राजस्व बृद्धि, विद्युत खपत, गुणस्तर तथा स्वदेशी उद्योगको प्रबद्र्धनमा बृद्धि हुने दाबी गदै आएका छन्। आखिर, नेपालमा कसरी हुँदै आएको छ फलामे छडको उत्पादनः फलामे डण्डी उत्पादनका लागि आवश्यक कच्चा पदार्थलाई बिलेट भनिन्छ। जुन बिलेट दुई प्रकारले तयार पारिन्छ। पहिलो हो, आइरन ओर (Iron Ore/ Blast Furnance Route)। बिलेट उत्पादनमा यो प्रक्रिया सर्वश्रेष्ठ प्रविधि मानिन्छ। जसमा रसायनिक उपचारमार्फत डण्डी उत्पादनका लागि आवश्यक कच्चा पदार्थ बिलेट उत्पादन गरिएको हुन्छ। यसरी उत्पादित बिलेट र त्यसबाट बन्ने डण्डी उच्च गुणस्तरको मानिन्छ। तर, यसरी उत्पादन गरिने छड उद्योगमा लागत खर्च ज्यादा हुने भएकोले भारत जस्तो विकसित मुलुकमा पनि आधा दर्जन भन्दा बढी यस्ता उद्योग रहेका छैनन्। नेपालमा पनि एकाधबाहेक बाँकी सबै उद्योगहरुले विदेशबाटै बिलेट आयात गर्दैआएका छन्। दोस्रो विधि होः Induction Route पत्रु (स्क्रयाप) तथा स्पन्ज आइरन पगालेर बिलेट तयार पारिन्छ। जुन प्रक्रियाबाट छड उत्पादन गर्दा उद्योगको लागतमा मात्रै कमी आउँदैन, यो प्रक्रियाबाट उत्पादित बिलेट तथा छडको गुणस्तीयता पनि कम हुन्छ। यस बिधिबाट छड उत्पादन गर्दा वातावरणीय क्षेत्रमा पनि गम्भीर असर गर्दछ। सरकारको पछिल्लो नीतिबाट लाभान्हित हुन पुगेका आधा दर्जन उद्योगहरुले यही विधिबाट बिलेट तथा छड उत्पादन गर्दैआएका छन्। सरकारको बजेट पेश गर्ने क्रममा अर्थमन्त्री शर्मासँगै उक्त निर्णयको बचाउमा उत्रिएका कतिपय व्यवसायीले सरकारी नीतिले रोजगारीको अवसरमा बृद्धि गर्ने दाबी गरिरहेका छन्। तर, एक फलामे छड उद्योगीका अनुसार, पत्रु तथा स्पन्ज आइरनको पुनः प्रयोगबाट बिलेट उत्पादन गर्दा उद्योगमा १ हजार डिग्री तापक्रममा काम गर्नु पर्ने बताउँदै यसका लागि दक्ष जनशक्तिको आवश्यकता पर्दछ। जुन, दक्ष जनशक्ति नेपाली बजारमा उपलब्ध भएको कारण देशमा संचालित डण्डी उद्योगहरुले आफ्ना अधिकांश कर्मचारी तथा जनशक्ति विदेशबाटै मगाउँदै आएका छन्। यसरी विदेशी जनशक्तिमा निर्भरता पर्नुको अर्को कारण उद्योगभित्र हुन सक्ने दुर्घटना र त्यसले निम्त्याउन सक्ने झमेलाबाट मुक्तिका लागि पनि नेपाली उद्योगीहरुले विदेशी कामदारमै निर्भर गर्दै आएको उनले बताए। सरकारको पछिल्लो आर्थिक नीतिले हाल देशमा संचालित करिब दुई दर्जन उद्योगहरुमा काम गर्दै आएका करिब १२ हजार कामदार तथा मजदूर र कर्मचारीको संख्यामा बेरोजगार हुने स्थिति आउने खतरा रहेको पनि उनले बताए। यसका अतिरिक्त यो नीतिका कारण आधा दर्जन बाहेकका उद्योग बन्द हुने स्थितिमा विद्युत खपतमा पनि कमी आउने मात्र होइन, हाल उठ्दै आएको वार्षिक १५ अर्ब रुपैयाँ बराबरको राजस्वमा ११ अर्ब रुपैयाँले कमी आउने दाबी अर्का व्यवसायीले गरे। यसका साथै भूकम्पीय जोखिमका हिसाबले अति उच्च जोखिमयुक्त क्षेत्रको रुपमा परिचित नेपालमा भौतिक संरचना निर्माण गर्दा गुणस्तरिय फलामे छडको आवश्यकता पर्ने भनिए पनि रसायनिक उपचारविना उत्पादन गरिने बिलेट र छडले भुकम्पीय क्षेति न्यूनिकरणमा मद्दत नपुग्ने उद्योग व्यवसायीकै दाबी छ।
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update