प्रमुख प्रतिपक्षी नेकपा एमालेको बिरोधकाबीच प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ लाई पारित गरेको छ ।
सोमबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ पारित गरियास’ भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै बीच विधेयक पारित गरिएको छ ।
सभामुख अग्निप्रसााद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए । विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटमा तीन प्रतिशत बजेट मात्रै हेरफेर गरिएको तथा राष्ट्रहित र जनआकाङ्क्षालाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गरिएको जानकारी दिए ।
प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयक राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाले पारित गरेपछि विधेयक कार्यान्वयनमा आउनेछ । गत भदौ २५ गते प्रतिनिधिसभामा अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । त्यस्तै बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले स्वीकृत गरेको हो ।
आर्थिक विधेयकमाथिको दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही असोज ७ गतेका लागि छलफलको मिति तोकेका छन् । यसअघि विनियोजन विधेयकलाई पारित गर्नुपूर्व सांसद प्रेम सुवालले राख्नुभएको खर्च कटौतीको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज ७ गते २ बजे बोलाइएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय