एएफसी महिला एशियन कप छनौट अन्तर्गत दोस्रो खेलमा नेपालले मंगलबार हङ्गकङ्गको सामना गर्दैछ ।
उज्वेकिस्तानको ताश्केन्तमा हुने नेपाल र हङ्गकङ्गबिचको खेल नेपाली समयानुसार दिउँसो ३:४५ बजेबाट शुरु हुनेछ ।
एशियन कप छनौट अन्तर्गत समूह एफमा फिलिपिन्सविरुद्धको पहिलो खेल गुमाएको नेपाललाई एशियन कपमा छनौटको सम्भावना कायमै राख्न भोलिको खेल जित्नुको विकल्प छैन ।
नेपालले भोलिको खेल जितेर मात्र नभई गोल संख्या समेत बढाउनु पर्नेछ । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको थियो ।
यसैले नेपाललाई हङ्गकङ्गविरुद्धको खेल गर या मरको अवस्था रहनेछ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियताका आधारमा २५ स्थानअघि रहेको हङ्गकङ्गविरुद्धको खेल नेपालका लागि त्यति सहज भने पक्कै हुने छैन ।
फिफा वरियतामा नेपाल एक सय एक स्थानमा रहँदा हङ्गकङ्ग ७६ औं स्थानमा छ । हङ्गकङ्गविरुद्ध नेपालको यो तेस्रो खेल हुनेछ ।
नेपालले १९८६ मा भएको एशियन कप छनौटमा पहिलो पटक हङ्गकङ्गविरुद्ध खेलको थियो । सो खेलमा नेपाल १-० गोलले पराजित भएको थियो ।
यस्तै नेपालले एशियन छनौटमै दोस्रो पटक सन् १९८९ मा हङ्गकङ्गको सामना गरेको थियो । उक्त खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको थियो ।
नेपालले अहिलेसम्म हङ्गकङ्गलाई पनि हराउन सकेको छैन । यदि भोलि नेपालले हङ्गकङ्गलाई हराए हङ्गकङ्गविरुद्ध नेपालको ऐतिहासिक जित हुनेछ ।
समूह एफकै फिलिपिन्स र हङ्गकङ्गबीचको खेल असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियन कप खेल्नेछ। एशियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय