एजेन्सी – अन्तिम समयमा रोनाल्ड एराउजोले गोल गरेपछि क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा ग्रानडासँगको हारबाट जोगिएको छ । घरेलु मैदानमा बार्सिलोनाले ग्रानडासँग १–१ गोलको बराबरी खेलेको हो ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सोमबार राति भएको खेलमा सुरुवाती अग्रता लिएपनि अन्तिम समयमा जोगाउन नसक्दा ग्रानडा जितबाट वञ्चित बन्यो । ग्रानडाका डोमिङओस डुआर्टीले खेलको दोस्रो मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । उनले सर्जियो इस्कुडेरोको पासमा गोल गरेका थिए ।
एक गोलले पछि परेको बार्सिलोनाले बल पोसेसन राख्दै पाहुना टोलीलाई लगातार दवाव बढाएपनि गोलको लागि अन्तिम समय नै कुर्नुपरेको थियो । बार्सिलोनाले ७७ प्रतिशत बल पोसेसन राखेका थियो । १२औं मिनेटमा डार्विन माचिसको क्रसमा जर्ग मोलिनाको प्रहारलाई फ्रान्की डि योङले खतरा हुन दिए ।
१८औं मिनेटमा सर्जी रोबर्टाेको कर्नर सिधै पोस्ट र बारमा लाग्दै फर्कदा बार्सिलोना बराबरीबाट चुक्यो । ४३औं मिनेटमा फ्रिकिकमा आएको बललाई लुइस अब्रामको प्रहार क्लियर हुन नसक्दा रिवाउन्डमा मोन्चुको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाउँदा ग्रानडा अग्रता दोब्बर पार्नबाट चुक्यो ।
लगत्तै ४४औं मिनेटमा फ्रिकिकमा रोनाल्ड एराउजोको फ्लिक हेडरले गोलरक्षक लुइस म्याक्सिमियानोले पञ्च गर्दै बचाउँदा बार्सिलोना पहिलो हाफमा बराबरीबाट चुक्यो । ५८औं मिनेटमा मेम्फिस डिपाएको प्रयासलाई लुइस म्याक्सिमियानोले सहजै नियन्त्रणमा लिए । ७९औं मिनेटमा लुक डि योङको पासमा डिपाएले ६ यार्डबाट गरेको हेडर सदुपयोग हुन सकेन ।
हारतर्फ उन्मुख हुदा ९०औं मिनेटमा रोनाल्ड एराउजोले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । उनले पाब्लो गाभिराको पासमा गोल गरेका थिए । नयाँ सिजनमा बार्सिलोनाको यो दोस्रो बराबरी हो । यसअघि बार्सिलोनाले एथलेटिको बिल्वाओसँग १–१ गोलको बराबरी खेलेको थियो ।
यो बराबरीपछि अपराजित रहेको बार्सिलोना ४ खेलबाट ८ अंक जोडेर सातौ स्थानमा रहेको छ । समान ८ अंक रहेपनि सेभिया गोलअन्तमार छैटौं स्थानमा रहँदा ओसासुना र रियल मलोर्का आठौं र नवौं स्थानमा रहेको छ । स्पान्योल ३ अंक जोडेर १७औं स्थानमा छ ।
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय