हिमाल दैनिक
नेपाल धितोपत्र बोर्ड अध्यक्ष ढुंगानालाई कारवाही गर्न सिफारिस
pratibedan
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना उपर धितोपत्रको भित्री कारोवार गरेको बिषयमा छानविन गर्न गठित समितिले अर्थमन्त्री जनार्दन शर्मा समक्ष प्रतिवेदन बुझाएको छ । मंगलबार मन्त्रालयमा समितिले ढुंगानालाई कारवाही गर्न सिफारिस सहितको प्रतिवेदन अर्थमन्त्री शर्मालाई बुझाएको हो । प्रतिवेदनमा बोर्ड अध्यक्ष भएकै बेला छोरीको नाममा शेयर खरिद गरेको पाइएको र उक्त कार्य पदीय आचारणविरुद्ध भएको प्रतिवेदनमा उल्लेख रहेको बुझिएको छ । प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले शेयर बजारलाई व्यवस्थित गर्ने, सुरक्षित गर्ने कुरामा सरकार गम्भीर रहेको बताए । शेयर कारोबारमा ठूलो संख्यामा आम जनता सहभागी भइरहेको भन्दै सर्वसाधारणको हितको रक्षा गर्नु सरकारको दायित्व भएको अर्थमन्त्री शर्माले बताए । उनले जाँचबुझ समितिले दिएको प्रतिवेदनका आधारमा आवश्यक कामकारवाही गरिने उल्लेख गरे । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम भाद्र १६ गते मन्त्रिपरिषद्को निर्णयअनुसार गठित समितिले तोकिएको १५ दिनभित्रै कार्यबिधि बनाई प्रतिवेदन बुझाएको हो । समितिले प्रतिवेदन कार्यान्वयन गरि आम लगानीकर्ताको हित संरक्षण गर्ने दायित्व नेपाल सरकारको भएको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update