करिब चार वर्षअघि सरकारमा छँदा अति विश्वास गर्दै गृह मन्त्रालयको सचिवदेखि मुख्यसचिवसम्मको नेतृत्व गर्ने अवसर दिएपनि चुनावी परिणाम सार्वजनिक भएलगत्तै रङ्ग बदलेर आफूलाई धोका दिएका तत्कालिन मुख्यसचिव लोकदर्शन रेग्मीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ढिलै भएपनि रेग्मीसँग बदला लिएका छन्।
प्रधानमन्त्री देउवा ०७४ फागुन २ गते सत्ताबाट बाहिरिए लगत्तै तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीको खाँतिरदारीमा देउवा सरकारले गरेका कतिपय महत्वपूर्ण निर्णयहरु गायव गरेर धोका दिएका रेग्मीलाई मंगलबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदको निर्णयमार्फत दण्डित गरेका हुन्।
यसअघि तत्कालिन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले विभिन्न देशका लागि नेपाली राजदूतमा नियुक्तिको सिफारिस गरेका सबै राजदूतहरुलाई आज बसेको मन्त्रिपरिषदले फिर्ता बोलाउने निर्णय गरेपछि ओलीको पुरस्कारमा बेलायतका लागि राजदूत बनेका रेग्मी पनि फिर्ता हुने भएका हुन्।
चार वर्षअघि सरकारको नेतृत्व गरिरहँदा देउवाले पार्टीभित्रका कतिपय पार्टी नेतादेखि कांग्रेसका शुभचिन्तक उच्चपदस्थ कर्मचारीहरुको दबाबका बाबजूद रेग्मीलाई मन्त्रिपरिषद कार्यालयको मुख्यसचिव नियुक्त गरेका थिए।
तर, आम निर्वाचनमा वामगठबन्धनको कारण कांग्रेसको लज्जास्पद पराजय भएलगत्तै रेग्मीले प्रधानमन्त्री देउवा सत्ताबाट बाहिरिनुअघि सामाजिक सुरक्षा भत्तासँगै मृगौला प्रत्यारोपण, क्यान्सर र स्पाइनलकर्ड इन्ज्यूरी भएका विरामीका लागि मासिक रु ५ हजार सहयोग स्वरुप उपलब्ध गराउने भनि गरेको मन्त्रिपरिषदको निर्णयलाई ओलीको सत्तारोहण लगत्तै रद्दीको टोकरीमा फालिदिएका थिए।
त्यतिबेलाको मन्त्रिपरिषद बैठकमा उक्त निर्णयलाई मुख्यसचिव रेग्मीले निर्णय पुस्तिकामा लेख्दै गर्दा कतिपय मन्त्रीहरुले आफ्नो मोबाइलमा फोटो खिचेपछि मन्त्रिपरिषदको निर्णय फोटो खिचेर बाहिर लान नमिल्ने भन्दै आफूप्रति अविश्वास नगर्न आग्रह गरेपछि प्रधानमन्त्री देउवाको निर्देशनमा मन्त्रीहरुले मोबाइलमा खिचेको फोटो मेटाएका थिए।
तर, संविधान र संसदीय अभ्यास बमोजिम कायम रहेको प्रधानमन्त्रीले राजीनामा दिएर सरकार गठनको बाटो खुला गर्ने तथा संसदीय दलको बैठकबाट दलको नेता बन्ने प्रक्रिया त के सांसद पदको सपथ नै नलिएका ओलीलाई ०७४ फागुन २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेको सूचना प्रकाशित गर्न नपाउँदै तत्कालिन मुख्यसचिव रेग्मीले प्रधानमन्त्री कार्यालयको सरकारी वेभसाइटबाट देउवाको नाम र फोटो हटाएर ओलीको चाकडी सुरु गरेका थिए।
त्यसपछिका दिनमा ओली सरकारलाई हरतरहले साथ र सहयोग गर्दै आएका रेग्मीलाई केही महिनाअघि मुख्यसचिवबाट राजीनामा गराएर ओलीले पुरस्कार स्वरुप बेलायतका लागि राजदूत पदमा नियुक्त गरेका थिए।
कोरोना महामारीको सकसपूर्ण घडीमा बेलायतको राजदूत बनेपनि रेग्मीले नेपाल र नेपाली जनताका लागि आवश्यक खोप उपब्ध गराउनेदेखि बेलायतस्थित पूर्व गोर्खा सैनिकको मुद्दामा समस्या समाधानका लागि कुटनीतिक रुपमा कुनै पहल नगरी जागिरे जीवन विताएको भन्ने आरोप उनीमाथि लाग्दै आएको थियो।
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय