हिमाल दैनिक
समाज कल्याण परिषद्का ८ पदाधिकारीले दिए संयुक्त राजिनामा
samajik-kalyan-council
सरकारले राजनीतिक प्रतिशोध राखेर अप्रत्यक्ष रुपमा दवाव दिएको भन्दै समाज कल्याण परिषद्का उपाध्यक्षसहित सातै पदाधिकारीले संयुक्त राजिनामा दिएका छन् । शुक्रबार परिषद्का उपाध्यक्ष पद्मप्रसाद खतिवडा, सदस्य–सचिव पुस्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले राजीनामा दिएका हुन् । उनीहरुले वर्तमान सरकारले संस्थामाथि राजनीतिक हस्तक्षेप गरेको आरोप लगाए । उपाध्यक्ष खतिवडाले संस्थामा कार्यकर्ता भर्ति गर्नका लागि राजनीतिक पूर्वाग्रहका आधारमा बर्षौदेखि कार्यरत कर्मचारीलाई हाजिर नगराउन दवाव आएको बताए । उनले परिषद्का पदाधिकारीले अवाञ्छित दवावलाई स्वीकार गर्न नसक्ने भन्दै प्रधानमन्त्रीसमक्ष सामूहिक राजीनामा पेश गरेको जानकारी दिए । उनले सरकार कानूनको बर्खिलाप गइरहेको आरोप लगाउदै परिषद रुपान्तरणका लागि मनोनित नेतृत्वले लिएको लक्ष्यमा धक्का लागको धारणा राखे । खतिवडाले यस प्रवृतिका विरुद्धमा संघर्षको मैदानमा उत्रदै खवरदारी गर्ने निष्कर्षमा पुगको बताए । त्यस्तै सदस्य सचिव पुष्कर खातीले सामाजिक संस्थामा राजनीति गर्न नहुने र आफुहरुले १४ महिना संस्थालाई राजनीति मुक्त राखेको दावी गरे । उनले सरकारले संस्थालाई अघि बढाउनका लागि निकास दिन नसक्ने भएकाले आफुहरु बाहिरिएको जिकिर गरे । उपाध्यक्ष खतिवडासहितको परिषद्का पदाधिकारीलाई केपी ओली नेतृत्वको सरकारले मनोनित गरेको थियो । परिषद्को अध्यक्ष भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहने व्यवस्था छ ।  
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update