नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकार विस्तारमा देखिएको कानूनी जटिलता हटाएर तत्काल प्रक्रिया शुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको स्थायी समितिको बैठकले मन्त्रिपरिषद् विस्तारमा देखिएको कानूनी जटिलतालाई अविलम्ब समाधान गरेर अगाडि बढ्न गठबन्धनमा संलग्न दलसँग परामर्श गर्ने निर्णय गरेको हो ।
बैठकमा सरकार विस्तारका लागि कानूनी जटिलता, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दालगायत विषयमा छलफल भएको एक नेताले जानकारी दिए । बैठकले पार्टी सदस्यताको नवीकरण असोज मसान्तसम्म गर्ने नयाँ कार्यतालिका तय गरेको छ ।
यस्तै टोल भेला आगामी कात्तिक ६ गतेसम्म गर्ने, कात्तिक १३ गते वडा सम्मेलन र आगामी मङ्सिर ४ गते स्थानीय पालिका सम्मेलन गर्ने गरी कार्यतालिका तय गरिएको छ ।
पालिका, वडा र टोल सम्मेलनका बारेमा केही दिन समय थप गरिएको भए पनि राष्ट्रिय सम्मेलनको कार्यतालिकाका बारेमा भने कुनै परिवर्तन गरिएको छैन । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम गर्ने निर्णय यसअघि नै गरेको छ ।
प्रकाशित मिति: सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्