संघीय संसदमा रहेका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र यसको नेतृत्व सम्वाद र वार्ताबाट पर भाग्दै मुलुकमा विद्यमान राजनीतिक गतिरोध अन्त्य लम्ब्याउन चाहिरहेको आरोप लगाएका छन्।
सर्वोच्च अदालतबाट पुनःस्थापित संघीय संसदको भदौ २३ गतेदेखि सुरु भएको अधिवेशनमा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै निरन्तर अवरोध कायम गर्दै आएपछि राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार बोलाएको सर्वदलीय बैठकले एमाले र यसको नेतृत्वको भूमिकामाथि प्रश्न उठाएका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा संसदमा रहेका अन्य प्रमुख दलका नेताहरु उपस्थित भएपनि विवादको प्रमुख जडका रुपमा रहेको एमाले र यसको नेतृत्व अनुपस्थित रहेपछि मुलुकको राजनीतिक गतिरोध थप लम्बिने सम्भावना बढेको छ।
बैठकमा भएको छलफलबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री देउवाको आब्हानमा संसदमा रहेका सबै दलका नेताहरु उपस्थित भएपनि एमाले र यसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको बताए।
‘अहिले संघीय संसदमा देखिएको अबरोध हटाउने विषयमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको आग्रह बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले आज संघीय संसदमा रहनु भएका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई बैठकमा आमन्त्रण गर्नु भएको थियो। तर, संसदमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र यसका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेकोले उहाँहरु गतिरोध अन्त्यका लागि सम्वाद र वार्ताबाट टाढा भाग्न खोेखिरहनु भएकोे छ भन्ने निश्कर्ष निकालिएको छ। जुन अहिलेको मुलुकको आवश्यकता भन्दा बाहिरको विषय हो,’ मन्त्री कार्कीले भने।
साथै बैठकले मुलुकमा विद्यमान जल्दाबल्दा समस्याकाबारेमा जनप्रतिनिधिहरुले छलफल, बहस र निचोड दिनेदेखि संसदमा विचाराधीन महत्वपूर्ण विधेयकहरु पारित गर्न पनि संसदको बैठक सूचारु हुनु पर्ने निश्कर्ष निकाल्दै यस विषयमा एमाले र यसका नेता ओलीले जिम्मेवार ढंगले सकारात्मक भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ।
संघीय संसदमा एमालेकोे अवरोध कायमै रहेपछि केही दिनअघि सभामुख सापकोटाले पनि सर्वदलीय बैठकको आब्हान गरेका थिए। तर, सदनमा नियमित अवरोध र नारावाजी गर्दै आएको एमाले र यसका नेताहरु नै अनुपस्थित भएपछि उक्त बैठकले कुनै निकास दिन सकेको थिएन।
उक्त प्रसंगलाई स्मरण गर्दै आजको बैठकपछि मन्त्री कार्कीले बैठकमा प्रधानमन्त्री देउवाले देशमा देखिएका सबै समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसहित सबैसँग सहमति र सम्वादको प्रयास जारी राख्ने बताएको जानकारी दिए।
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय