हिमाल दैनिक
भैरहवा र ललितपुरको खेल टाई, दुवै टिमले एक/एक अंक बाँडे
Tharanga-epl
काठमाडौं । चौथो सिजनको एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडियटर्सबीचको खेल सुपर ओभरमा सकिएको छ । ललितपुरले दिएको १७८ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनायो । खेल टाइ भएसँगै दुवै टिमले एकएक अंक बाँडेका छन् । अन्तिम बलमा शरद भेषवाकरले छक्का हिर्काएसँगै खेल सुपर ओभरमा धकेलिएको हो । भैरहवाका लागि उपल थरंगा र युवा ब्याट्सम्यान कुशल मल्लले आक्रामक ब्याटिङ गरे । थरंगाले ४४ बलमा ६ चौका र दुई छक्कासहित अविजित ६७ र कुशलले १९ बलमा तीन छक्का र दुई चौकासहित ३५ रन बनाए । त्यस्तै, आरिफ शेख २८, तमिम इकबाल १४, प्रदीप ऐरी र रोहितकुमार पौडेल २–२ रनमा आउट भए । बलिङमा राशिद खानले तीन र रजिन ढकालले दुई विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको ललितपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ७७ रन बनायो। उसका लागि सन्दुन वीराकोडीले अर्धशतकीय पारी खेले । उनले ४१ बलमा दुई चौका र पाँच छक्काको मद्दतमा ५८ रन बनाए । त्यस्तै, अजमतुल्लाह उमरजाईले पनि आज विस्फोटक पारी खेले । उनलले २२ बलमा दुई चौका र चार छक्काको मद्दतमा ४२ रन बनाए । त्यस्तै, सन्दीप जोराले ३८ र ओशादा फर्नान्डोले २० रन बनाए । बलिङमा अविनाश बोहराले दुई, कृष्ण कार्की, आरिफ शेख र धम्मिका प्रसादले एकएक विकेट लिए ।
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update